२३ बैशाख २०८१, आईतवार

कर्णालीमा गठबन्धनका तिनै जना विजयी


सुर्खेत । कर्णालीबाट राष्ट्रियसभा सदस्यमा सत्ता गठबन्धनका तीनै जना उम्मेदवार विजयी भएका छन् । बिहीबार भएको निर्वाचनमा गठबन्धनबाट उम्मेदवार बनेका नेपाली कांग्रेस रुकुमपश्चिमका कृष्णबहादुर रोकाया, नेकपा माओवादी केन्द्रबाट कालिकोटका विष्णु विक र नेकपा एकीकृत समाजवादीबाट दैलेखकी सावित्री मल्ल विजयी भएका हुन् ।
७९ वटा पालिकाका १५६ जना जनप्रतिनिधि र प्रदेशसभा तर्फका ४० जनाले मतदान गरिसकेका छन् । यस्तै, ७९ स्थानीय तहका कूल १५८ मतदातामध्ये १५६ जनाले मतदान गरेका छन् । दैलेखको महाबु गाउँपालिकाका अध्यक्ष लछुमन गुरुङ र जाजरकोटको नलगाड नगरपालिका उपप्रमुख सरिता सिंहको निधन भएका कारणले उनीहरुको मत खसेन् ।
कर्णालीमा रिक्त हुने तीन सिटका लागि नेपाली कांग्रेस, नेकपा माओवादी केन्द्र र नेकपा एकिकृत समाजवादीबीच १–१ सिट लिनेगरी भागवण्डा भएको थियो ।
जसमा महिलातर्फ गठबन्धनबाट सावित्री मल्लले प्रदेशतर्फ २९ र स्थानीयतपर्फ १ सय १५ मत प्राप्त गरी विजयी हुँदा एमालेकी विमलाकुमारी शाहीले प्रदेशतर्फ ११ र स्थानीयतर्फ ४१ मत प्राप्त गरिन् ।
यस्तै, दलिततर्फ गठबन्धनका विष्णु विकले प्रदेशसभामा २९ मत र स्थानीयतर्फ १ सय २० मत प्राप्त गरी विजयी भए । एमालेका हिक्मत विकले प्रदेशसभातर्फ ११ र स्थानीयतर्फ ३६ मत प्राप्त गरे ।
अन्यमा गठबन्धनका कृष्णबहादुर रोकायाले प्रदेशतर्फ ३० र स्थानीयतर्फ १२० मत प्राप्त गरी विजयी भए । एमालेका डिल्लीप्रसाद भट्टले प्रदेशमा १० र स्थानीयतर्फ ३६ मत पाए ।