६ जेष्ठ २०८१, आईतवार

३८ वर्षपछि चिलगाडी चढ्ने सपना पूरा, कोटबाडा विमानस्थल उद्घाटन


सुर्खेत । ३८ वर्षपछि कालीकोटवासीको जहाज चढ्ने सपना पूरा हुने भएको छ । ०४२ सालदेखि निर्माण सुरु भई बीचमा गौचरन बनिसकेको यहाँको एक मात्र कोटबाडाको सुनथराली विमानस्थलको सोमबार उपप्रधान एवं रक्षामन्त्री पूर्णबहादुर खड्का र संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री सुदन किराँतीले तामझामका साथ उद्घाटन गरेका हुन् ।

आइतबार तारा एयरको विमान अवतरण गरेर परीक्षण गरेपछि सोमबार उपप्रधान तथा रक्षामन्त्री खड्का, नागरिक उड्डयनमन्त्री किराँती, कर्णाली मुख्यमन्त्री राजकुमार शर्मा, पूर्वमुख्यमन्त्रीद्वय महेन्द्रबहादुर शाही र जीवनबहादुर शाहीसहितको टोलीले नेपाल एयरलाइन्स र तारा एयरका दुईवटा जहाज अवतरणपछि विमानस्थलको उद्घाटन गरेका हुन् ।

पानसमा बत्ती बालेर विमानस्थलको उद्घाटन गर्दै उपप्रधान तथा रक्षामन्त्री खड्काले लामो समयपछि निकै मिहिनेत र कठिन परिस्थितिका बाबजुद विमानस्थलको उद्घाटन गरेको बताए । विमानस्थल निर्माणका क्रममा मारिएका एक नाबालकसहित ३५ जना धादिङ जोगिमाराका मजदुरप्रति उनले श्रद्धाञ्जलीसमेत व्यक्त गरे ।

विमानस्थलको उद्घाटन भएसँगै अब आवश्यकताअनुसार नियमित उडानका लागि स्थानीय, प्रदेश र संघ सरकारले काम गर्ने उनको प्रतिबद्धता छ ।

सो अवसरमा नागरिक उड्डयनमन्त्री किराँतीले हप्ताको एकपटक यात्रुको चाप हेरेर उडान भर्ने बताए । ‘कोटबाडा मात्र नभएर अहिले कर्णालीका जिल्लामा नियमित उडान हुन सकेका छैनन् । यस्तो अवस्थालाई हेरेर हप्ताको एकपटक नियमित उडान भर्छौँ,’ किराँतीले भने । साथै सबै प्रदेशमा नेपाल एयरलाइन्सको एक–एक जहाज दिने उनको उद्घोष छ ।

०४२ सालदेखि निर्माण सुरु भएको विमानस्थल डेढ वर्षअघि कालोपत्रे सकिए पनि उद्घाटन नहुँदा कालीकोटवासीको ‘चिलगाडी’ चढ्ने सपना पूरा हुन सकेको थिएन । ०७३ माघमा तत्कालीन पर्यटनमन्त्री जीवनबहादुर शाहीले कच्ची धावनमार्गमा परीक्षण उडान गराए पनि त्यसपछि जहाज आएको थिएन ।

कहिले स्थान छनोटको विवाद, कहिले बजेट अभाव त कहिले सशस्त्र द्वन्द्वको असरले कामले गति लिन नसकेको कोटबाडा विमानस्थल पछिल्लो समयमा पिच भएर पनि जहाज नआउने विमानस्थलका रूपमा चर्चामा रहँदै आएको थियो ।