२१ बैशाख २०८१, शुक्रबार

बराहतालको सार्वजनिक सुनुवाई: बिकासको योजना बनाउन सुझाव


सुर्खेत । बराहताल गाउँबासीले बराहताल गाउँपालिकाले सार्वजनिक सुनुवाई कार्यक्रम गरको छ । चालु आर्थिक बर्षमा गाउँपालिकाले पारित गरेको नीति तथा कार्यक्रम र बजेट कार्यान्वयनबार शनिबार बड्डिचौरमा सार्वजनिक सुनुवाई गरेको हो । गाउँपालिकाको सेवा प्रवाह, योजना कार्यान्वयन र भुक्तानीको अवस्था तथा योजना छनौटबारे गाउँपालिकाले नागरिकलाई जानकारी गराइएको छ ।
सार्वजनिक सुनुवाई कार्यक्रममा स्थानीयले बिकास निर्माणमा अपेक्षाकृत प्रगती नभएको, ८ नम्बर वडा कार्यालयको केन्द्र तोक्न नसकेको, सबै वडामा खानेपानीको व्यवस्था नभएको, गाउँमा विद्युतीकरणमा ढिलाई भएको, योजना निर्माणको ईष्टिमेट र कार्यान्वयन ढिलाई भएकोलगायतका गुनासोहरु राखेका थिए । गाउँपालिका स्तरीय रनिङ शिल्ड सञ्चालन गर्न नसकेको, विकट बस्तीमा स्वास्थ्य चौकी स्थापनाका ध्यान ध्यान नदिएको तथा सामुदायिक विद्यालयमा दरबन्दी सिर्जना गरी शिक्षक भर्ना हुन नसकेको जस्तो गुनासो गरेका छन् ।
स्थानीयका प्रश्नको जवाफ दिँदै गाउँपालिका अध्यक्ष तेजबहादुर बस्नेतले नागरिकहरुबाट आएका सुझावलाई मार्ग दर्शक मानेर सुझावअनुसार अगाडि बढ्ने प्रतिबद्धता जनाए । उनले केही प्राविधीक कठिनाईले योजनाको भुक्तानीमा ढिलाई भएको स्वीकार गर्दै योजना छनौटको जिम्मेवारी वडालाई नै दिएको जनाए । ‘बस्तीस्तरबाट प्राथमिकतामा परेका योजनाहरलाई आवश्यक बजेट विनियोजन गरी योजना कार्यान्वयनमा लागेका छौ’ उनले भने, ‘नमूना गाउँपालिका बनाउने अभियानमा लागेका छौ ।’
प्रधानमन्त्री रोजगार कार्यक्रमका लागि एक हजार १९४ महिला र दुई हजार ७१ पुरुष गरि जम्मा ३ हजार २६५ जनाले आवेदन दिएकोमा गाउँपालिकाका १० वटै वडामा विभिन्न योजनाहरुमा उनीहरुलाई रोजगार सिर्जना गरेको बताए । नागरिकका सुझावका आधारमा योजना बनाउने, बजेट कार्यान्वयलाई अझ प्रभावकारी बनाउने, सबै वडा कार्यालयमा नागरिक वडापत्र राख्ने लगायतका १० बुँदे प्रतिबद्धता पनि व्यक्त गरेका छन् ।
सार्वजनिक सुनुवाईमा एक दर्जन बढी सरोकारवालाले जवाफदेही वक्तालाई जिज्ञासा राखेका थिए । गाउँपालिका अध्यक्ष बस्नेत, उपाध्यक्ष शोभाकुमारी शर्मा र प्रमुख प्रशासकीय अधिकृत यादवप्रसाद सापकोटाले नागरिककका जिज्ञासाको जवाफ दिएका थिए । मध्यपश्चिमाञ्चल विश्वविद्यालय कानून संकायका निर्देशक अर्जुनबहादरु अयडीले चालु आर्थिक बर्षको ३४ करोड २९ लाख ५१ हजार ६को बजेटमध्ये १९ करोड १४ लाख ५४ हजार २८५ रुपियाँ खर्च भएको प्रतिवेदन प्रस्तुत गरे ।
कार्यक्रममा नेपाली कांग्रेस बराह गाउँपालिकाका सचिव गगन नेपालीले जनगुनासो स्वभाविक भएको र यसलाई गाउँपालिकाले मार्गदर्शकको रुपमा लिनु पर्ने बताए । नेकपा सुर्खेतका सदस्य ताराकेशर गौतमले गाउँपालिकाले प्रस्तुत गरेको प्रतिवेदनमा सबै योजनाहरु समेटिएको भए पनि गाउँपालिकाको बिकास निर्माणका योजनाहरु खासै नदेखिएको बताए । उनले गाउँपालिकाको बिकासका लागि सबै दल मिलेर जानुको विकल्प नभएको बताए ।
नेकपाकै रत्नप्रसाद सुवेदीले गाउँपालिकाले चित्त बुझ्दो प्रतिवेदन प्रस्तुत गरेपनि गाउँपालिकाको विकासका योजना र निर्माणका लागि अघि बढ्नुपर्ने सुझाव दिएका थिए । इकोनोमिक रिफर्म मिडिया प्रा.लि. काठमाडौले सार्वजनिक सुनुवाईको समन्वय गरेको सार्वजनिक सुनुवाईको मध्यपश्चिमाञ्चल विश्वविद्यालयका पूर्वडिन पिताम्बर ढकालले सहजीकरण गरेका थिए ।