२१ बैशाख २०८१, शुक्रबार

मुगुका पत्रकारलाई यातायात भाडामा ५० प्रतिशत छुट !


मुगु । मुगु जिल्लाको प्रधान कार्यालयमा रहेको एक यातायात प्रालिले यहाँ कार्यरत पत्रकारहरुलाई यातायात भाडामा ५० प्रतिशत छुट दिने निर्णय गरेको छ । रारा छायाँनाथ यातायात प्रालिले मुगु जिल्लामा सक्रिय रहेका पत्रकारहरुलाई ५० प्रतिशत छुट दिने निर्णय गरेको हो । यातायात प्रालिकाे प्रथम साधारण सभाले पत्रकारहरुलाई ५० प्रतिशत छुट दिने निर्णय गरेको छ । साधारण सभाले नवराज चौलागाईको अध्यक्षतामा ११ सदस्यीय सञ्चालक समिति चयनसमेत गरेको छ ।

सभाले बरिष्ठ उपाध्यक्षमा काली बहादुर रावल, उपाध्यक्षमा गोविन्द्र भाम, महा–सचिवमा नेता प्रसाद चौलागाँई, सचिवमा अज बहादुर सेजुवाल, कोषाध्यक्षता गगन बहादुर बुढासहित ११ सदस्यीय सञ्चालक समितिलाई सर्बसम्मत चयन गरेको हो । पत्रकारहरु आफैमा आर्थिक सम्पन्न नहुने र समाचार संकलनका लागि हरेक ठाँउ बस्तीमा जानुपर्ने भएकाले उनीहरुको समस्यालाई मध्येनजर गर्दै आफ्ना हरेक भाडामा चल्ने साना तथा ठूला सवारी साधनहरुमा ५० प्रतिशत छुट दिने निर्णय गरेको नव–निर्वाचित अध्यक्ष चौलागाँईले बताए । यस छुट सेवाका लागि लागि प्रालिले पत्रकारहरुलाई छुट्टै परिचय–पत्रको व्यवस्था गर्नेछ ।

सोही परिचय–पत्रको आधारमा पत्रकारहरुले छुट पाउने पनि उनले बताए । प्रालिले गरेको निर्णयलाई स्वागत गदै पत्रकार महासंघ मुगु शाखाले उक्त छुट कुनै पनि अनैतिक कार्यको स्वार्थसँग सम्झौता नहुने सर्तमा ग्रहण गर्ने पत्रकार महासंघका अध्यक्ष नृपेन्द्र बहादुर मल्लले बताए । रारा छायाँनाथ यातयात प्रालि साविकको कर्णाली अञ्चलमा कम्पनी रजिष्टारको कार्यालयमा यातायात सेवा दिने भनि दर्ता हुने पहिलो संस्था हो । सरकारले यातायात समितिहरु सेवामूखी मात्र नभएर नाफामूखि पनि भएको भन्दै संघ र समितिका नाममा जिल्ला प्रशासनमा हुने दर्ता रोक्दै हाल कम्पनी रजिष्टारको कार्यालयमा दर्ता हुन बाध्यकारी नियम बनाएको छ ।