विद्यार्थी नै नभएको विद्यालयमा चार शिक्षक

मनाङ । विद्यालयमा विद्यार्थी एकजना पनि छैनन् । तर, शिक्षक चार जना छन् । ती शिक्षक नपढाइकन तलब खान्छन् । यो कुरा पढ्दा र सुन्दा पनि अचम्म लाग्यो होला तपाईंलाई । तर सत्य यही हो, मनाङको ङिस्याङ गाउँपालिका–३ को ङावल आधारभूत विद्यालयमा यस्तै छ ।
यो विद्यालयमा गत वर्षसम्म दुई जना विद्यार्थी थिए । जारी नयाँ शैक्षिक सत्रमा भने विद्यालयमा एक जना पनि विद्यार्थी छैनन् । ‘पोहोरसम्म जसोतसो दुई जना विद्यार्थी थिए,’ प्रधानाध्यापक दुर्गा प्रसाद हुमागाइँले भने, ‘तर यो वर्षबाट एक जना पनि विद्यार्थी भएनन्, विद्यालय नै रित्तियो ।’ २०२९ सालमा स्थापना भएको सो विद्यालयमा इसिडिदेखि कक्षा सातसम्म सञ्चालन छ । तर विद्यार्थीको संख्या भने शून्य छ । विद्यार्थी नै नभएको उक्त विद्यालयमा दरवन्दीका चार शिक्षक कार्यरत छन् । निमाविको एक र प्राविको तीन दरवन्दीका शिक्षक कार्यरत रहेको प्रअ हुमागाइँ बताउँछन् । तर उनीहरुले पढाउनु पर्दैन । विद्यालय कुरेकै भरमा तलब पाइरहेका छन् । बिहान दश बजे शिक्षकहरु विद्यालय पुग्छन् । चार बजेसम्म विद्यालय खोल्छन् । अनि बन्द गरेर जान्छन् । विद्यालय कुरेरै उनीहरुको जागिर पाक्छ ।
‘विहान दश बजे विद्यालय गयो, हाजिर गर्‍यो अनि चार बजेसम्म बिरामी कुरैझैं विद्यालय कुरेर फर्क्यो,’ शिक्षक बाबुराम सम्पूर्णले भने, ‘विद्यार्थी नै छैनन् के गर्नु ?’
विद्यालयको कोठा ठेकेदार र मजदुरलाई भाडामा
विद्यार्थी नभएपछि अहिले कक्षा कोठामा शिक्षकको आवास छ । बेन्चहरु बाहिर अलपत्र छन् । जिद्यालयको भवन भाडामा लगाइएको छ ।
‘विद्यालयका दुई वटा भवनमा १२ कोठा छन् । दुई वटा स्वास्थ्य कार्यालय र एउटा पशु कार्यालयलाई दिएका छौ, अर्काे दुई वटा कोठामा ठेकेदार र मजदुर बस्छन्,’ प्रअ हुमागाइँले भने । मजदुर र ठेकेदारसँग मासिक भाडा लिने गरेको उनी बताउँछन् ।
ङावल गाउँको करिब ६७ घरधुरीलाई लक्षित गरी स्थापना गरिएको ङावल आधारभूत विद्यालय ङिस्याङ गाउँपालिका वडा नम्बर ३ को एकमात्र विद्यालय हो । विद्यार्थीलाई विद्यालयमा ल्याउनका लागि अभिभावकदेखि जनप्रतिनिधिसम्म छलफल चलाए पनि अभिभावकले आफ्ना बालबच्चालाई विद्यालयमा भर्ना गर्न नल्याएको प्रअ हुमागाइँ बताउँछन् । ‘हामीले घरदैलो कार्यक्रम पनि गर्‍यौं, बाहिरबाट मजदुरी गर्न यहाँ आएर बस्नुभएकाहरुलाई पनि भन्यौं, तर कसैले बालबच्चा ल्याउनु भएन,’ उनले भने ।
सो वडाका धेरैजसो व्यक्ति काठमाडौं बस्ने हुँदा आफ्ना बालबच्चा उतै लगेर पढाउने गरेका छन् । कतिपयले नजिकै रहेको लोफेलिङ टिबेटिएन बोर्डिङमा भर्ना गरेका छन् । ‘त्यहाँ लामा पनि पढाउँछ, टिबेटिएन भाषा पनि पढाउँछ, अंग्रेजीसँगै बौद्ध धर्म सम्बन्धी पनि पढाइ हुने भएकाले गाउँमा भएका विद्यार्थी त्यहीँ जान्छन्,’ प्रअ हुमागाइँले भने । उक्त बोर्डिङ स्कुलमा करिब ६० जना विद्यार्थी रहेको उनले जानकारी दिए । कुनै समय आठ जना शिक्षकको दरवन्दी थियो विद्यालयमा । तर घट्दै गएर अहिले विद्यालय विद्यार्थी्विहीन भएको छ । प्रअ हुमागाइँले भने, ‘२०६५ सालसम्म सबै कक्षामा गरेर करिब २२ जना विद्यार्थी थिए, ङावल मात्र होइन घ्यारुबाट पनि विद्यार्थी आउँथे, शिक्षक पनि आठ जना थियौं, तर अहिले विद्यार्थी छैनन्, चार जना शिक्षक मात्र छौँ ।’
विद्यालयमा विद्यार्थी ल्याउनका लागि पहल भइरहेको वडाध्यक्ष कृष्ण लामाले बताए । उक्त विद्यालयमा विद्यार्थीको खासै प्रगति नभएकाले पनि समस्या भएको उनको भनाइ छ ।
‘विद्यालय खारेज गर्न जनप्रतिनिधिले मानेनन्’
शिक्षा बिकास तथा समन्वय इकाइ मनाङका प्रमुुख खुलानाथ गौतमले राज्यले उचित व्यवस्थापन गर्न नसक्दा समस्या भएको दाबी गरे । विद्यार्थी नै नभएको विद्यालयमा चार जना दरवन्दीका शिक्षक कार्यरत छन् नि ? भन्ने प्रश्नको उत्तर दिँदै गौतमले अनलाइनखबरसँग भने, ‘चार जना मध्य दुई जनाको सरुवा भइसकेको छ, दुई जना मात्र बाँकी हुनुुहुन्छ अब, उहाँहरुलाई राज्यले अन्त लाने व्यवस्था गर्नुपर्‍यो होइन भने स्थायी शिक्षकले जागिर त खानै प‍र्यो ।’
विद्यार्थी नभए पनि विद्यालय खारेज गर्न स्थानीय जनप्रतिनिधि नमान्ने गरेको उनी बताउँछन् । जनसंख्या कम भएको जिल्ला भएकाले अधिकांश विद्यालयमा विद्यार्थी संख्या कम भएको उनले जानकारी दिए । अधिकांश आधारभूत विद्यालयमा विद्यार्थी संख्या न्यून रहेको उनले बताए । ‘गाउँपालिकाले हामीलाई डाटा दिएको छैन, तर हिमाली जिल्ला त्यसमाथि कम जनसंख्या भएका कारण अधिकांश विद्यालयमा विद्यार्थी कम छन्,’ उनले भने ।
मनाङ जिल्लाभर ४ वटा मावि र २२ वटा आधारभूत गरी कुल २६ विद्यालय छन् । विद्यार्थी संख्या कम भएकै कारण कतिपय ठाउँमा शिक्षकलाई प्रशासनिक काममा समेत संलग्न गराइएको गौतम बताउँछन् । ‘कर्मचारी अभाव छ, फेरि विद्यार्थी संख्या पनि कम भएकाले शिक्षकहरुलाई सरकारको प्रशासनिक काममा पनि लगाउने गरेको पाइएको छ,’ उनले भने । अनलाइनखबरबाट