८ बैशाख २०८१, शनिबार

देउता र नेता


                                      नयरुप धमाला ‘श्रमिक’
मलाई देउता र नेता उस्तै उस्तै लाग्छन्
नेतालाई पनि पुज्नै पर्ने, ढोग्नै पर्ने
देउतालाई पनि पुज्नै पर्ने, ढोग्नै पर्ने
देउताले आफ्ना छनियारको वकालत गर्छन्
नेताले आफ्ना मतियारको वकालत गर्छन्
त्यसैले
मलाई देउता र नेता उस्तै उस्तै लाग्छन् ।

देउतालाई पनि दमाहा बजाउनु पर्ने
नेतालाई पनि दमाहा बजाउनै पर्ने
यि दुबैलाई फूलमाला पहिराउनै पर्ने
तर, तर
नेतालाई अबिर र खादा चाहिने
देउतालाई दुध र घण्ट चाहिने
त्यसैले
मलाई देउता र नेता उस्तै उस्तै लाग्छन् ।

देउतालाई खसीको रगत चढाउनु पर्ने
नेतालाई खसीका चोक्टा र झोल चढाउनु पर्ने
त्यैसैले
मलाई त देउता र नेता उस्तै उस्तै लाग्छन् ।

देउतालाई फलफूल जनता चढाउँछन््
नेतालाई मतहरु जनताले हाल्छन्
तर
देउताले फलफूल आफन्तलाई बाँड्छन्
नेताले जागीर आफन्तलाई हाल्छन्
अनि,
लाभ हुने काममा आफन्तलाई तान्छन्
त्यसैले देउता र नेता उस्तै उस्तै लाग्छन् ।

देउतालाई दिउसेडी र रतेडी चाहिने
नेतालाई सुरा सुन्दरी चाहिने
पैठमा देउता चामल छर्कने
चुनावमा नेता पैसा छर्कने
त्यसैले,
मलाई देउता र नेता उस्तै उस्तै लाग्छन् ।

हामी जनताहरु
बिरामी पर्दा देउता हेराउँछौं
बेरोजगार हुँदा नेतालाई धाउँछौं
तर चार पाँच दिनमै बिरामी मर्झ
बेरोजगारले न रोजगार पाउँछ
त्यसैले त
मलाई देउता र नेता उस्तै उस्तै लाग्छन् ।

यिनिहरुलाई पुज्ने तरिका फरक होलान्
यिनिहरुलाई ढोग्ने तरिका फरक होलान्
देउताको मन्दिरमा प्रगालो चाहिने
पार्टीको कार्यालयमा झण्डा चाहिने
त्यसैले,
न देवतन्त्रमा न्याय छ
न लोकतन्त्रमा न्याय छ
न आदर्शमा न्याय छ
न माक्र्सवादमा न्याय छ
जताततै अन्याय मात्र छ
अनि मलाई भन्न मन लाग्छ
देउता र नेता उस्तै उस्तै हुन् ।
रास्कोट नगरपालिका ६, कालीकोट ।