२१ बैशाख २०८१, शुक्रबार

‘दुई तिहाइको दम्भमा सरकारकाे अधिनायकवाद लाद्ने प्रयास’


सुर्खेत । नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवाले वर्तमान सरकारले दुई तिहाइको दम्भ देखाएर मुलुकमा कम्युनिष्ट शासन लाद्न खोजेको भन्दै कम्युनिष्ट शासनमा जनतालाई कुनै किसिमको स्वतन्त्रता नहुने बताए । ‘कम्युनिष्ट सरकार बन्नु ठुलो कुरा होइन’ उनले भने, ‘यहाँका कम्युनिष्ट शासन स्थापित गर्ने प्रयास भई रहेको छ ।’ लोकतन्त्रमा झै कम्युनिष्ट शासनमा प्रेस तथा अभिव्यक्ति स्वतन्त्रता, स्वतन्त्र न्यायलय नहुने उनको भनाई छ ।
मानव अधिकार आयोगमा हस्तक्षेप गर्ने प्रयास, मिडिया काउन्सिल विधेयक, लगायत सरकारका क्रियाकलापले अधिनायकबादतर्फ सरकार अग्रसर भएको देखाएको उनले बताए । कम्युनिष्टको अधिनायकवाद अन्त्य गर्न मुलुकमा एक पटक अन्तिम लडाइँ लड्नु पर्ने अवस्था सिर्जना हुन लागेको भन्दै तयार हुन कार्यकर्तालाई निर्देशन समेत दिए । ‘काँग्रेसले राणा शासन ढाल्यौं, पञ्चायत ढाल्यो, राजालाई विदा ग¥यो अब अन्तिम लडाइँ कम्युनिष्ट अधिनायकबादका विरुद्ध हुनसक्छ’ उनले भने, ‘त्यसका लागि पनि अब हामी तयार हुनु पर्ने बेला आएको छ ।’
सभापति शेरबहादुर देउवाले पार्टीभित्रका हरेक निर्णयमा सहमतीको प्रयास गर्दा जरुरी काम पनि गर्न नसकेको भन्दै सहयोगका लागि आग्रह गरे । आपसमा झगडा गरेर पार्टीको हित नहुने भन्दै एकताका लागि सबै पक्ष गम्भीर हुनु पर्ने उनको भनाई छ । मञ्चमासंगै बसेका महामन्त्री डा. शशांक कोइरालालाई संकेत गर्दै देउवाले पार्टी एकताको लागि भाषण गरेर मात्र भएन अब सहयोग पनि गर्नु पर्नेमा जोड दिए । ‘पार्टीभित्र काम गर्न नदिने, काम गरेन भनि आलोचना गर्ने प्रवृत्ती बढेको छ’ उनले भने, ‘एकताका कुरा गर्ने अनि एकताका लागि कुनै पहल नगर्ने कसरी हुन्छ एकता ?’ उनको प्रश्न थियो । पार्टीमा अनुशासनहिनता बढेको भन्दै त्यसको अन्त्य गरी पार्टिलाई अनुशासित बनाउन जरुरी भएको उनको भनाई छ ।


काँग्रेसकै कारण पार्टीले विगतको चुनावमा हार व्यहोर्नु परेको भन्दै अन्तर्घात गर्नेलाई कार्वाही नगर्दा अनुशासनहिनता बढेको उनले बताए । कांग्रेसले चुनावमा अन्तर्घात गर्नेलाई कार्वाही गर्ने, जनताको घरघरमा पुग्ने र जनताको सेवा गर्ने कामले मात्र मतदाता आकर्षण गर्न सकिने भएकाले गाउँ केन्द्रित हुन कार्यकर्तालाई निर्देशन दिए । ‘भाषण गरेर जनताले पत्याउँदैनन्’ उनले भने, ‘अब जनताको घर बस्तीमा गएर जनताको सेवामा जुट्नु पर्दछ ।’


महामन्त्री डा. शशांक कोइरालाले पार्टीको एकतालाई मजबुत गराउन आफुले पहल गर्ने प्रतिबद्धता जनाएका छन् । पार्टीभित्रको आन्तरिक विवाद र मतभेदले पार्टी कमजोर भएको भन्दै सबैको ध्यान पार्टी बलियो बनाउन हुनु पर्नेमा जोड दिए । ‘हामीले आन्तरिक एकता मजबुत नबनाई राष्ट्रियता र लोकतन्त्र जोगाउन सक्दैनौ’ महामन्त्री डा. कोइरालाले भने, ‘त्यसका लागि अब मैले पहल गर्नेछु । सभापती जी र बरिष्ठ नेतालाई मिलेर जानका लागि म आजैदेखि पहल थाल्नेछु ।’ कर्णाली आफैमा सुन्दर प्रदेश भएको र यसलाई समृद्ध बनाउन पूर्वाधार निर्माणमा जोड दिनु पर्ने उनको भनाई छ ।
प्रशिक्षण कार्यक्रम समापन कार्यक्रममा नेपाली काँग्रेसका महामन्त्री पूर्णबहादुर खड्काले कांग्रेसले अघिल्लो बर्ष चुनाव हारे पनि कांग्रेसको विचारले जितेको बताए । पार्टीभित्रका कमजोरीहरुलाई सुधार गर्दै पार्टीलाई एकताबद्ध गरी अगाडि बढ्नु विकल्प नभएको उनको भनाई छ । ‘पछिल्लो डेढ बर्षमा दुई तिहाइको कम्युनिष्ट सरकारका क्रियाकलापबाट जनता आजित भइसकेको छन्’ उनले भने, ‘जनतामा छाएको निराशा र मुलुकको आवश्यकता पुरा गर्नका लागि पनि काँग्रेसमा एकताको खाँचो छ ।’ समय सापेक्ष पार्टीलाई रुपान्तर गरी अघि बढ्नु पर्ने भन्दै यसका लागि सबै नेताहरुको उत्तिकै प्रयास जरुरी हुने बताए ।
दुई दिनसम्म चलेको प्रशिक्षण कार्यक्रममा कार्यकर्ताले गुटगत राजनीति अन्त्य गर्न नेतृत्वलाई दबाब दिएका थिए । सुर्खेत आएका सबै नेताहरुले कर्णालीका महाधिवेशन प्रतिनिधीहरुलाई जिल्लागतरुपमा छुट्टाछुट्टै भेट गरी सुझाव पनि लिएका छन् । उद्घाटनमा सहभागी बरिष्ठ नेता रामचन्द्र पौडेल, उपसभापति विमलेन्द्र निधी, पूर्वमहामन्त्री कृष्णप्रसाद सिटौला र सह महामन्त्री डा. प्रकाशसरण महतले पनि पार्टीको आन्तरिक एकता मजबुतको प्रतिबद्धता जनाएका थिए ।