२३ बैशाख २०८१, आईतवार

भोट बंैक बन्यो विमानस्थल


कालीकोटः कालीकोटका गणेश विष्टले आफ्नो घरभन्दा माथिपट्टीको निमार्णाधिन सुनथराली विमानस्थल देखाउर्दै भने, ‘काम सुरु गरेको ३४ वर्षभन्दा बढी हुन लाग्यो, विमानस्थल कहिल्यै पनि बनेन ।’ ‘आफु सानो छदा चिलगाडी बस्ने ठाउँ बन्न लाग्यो भनेको सुने, अव त बयष्क पनि पार गर्न थालिसके विमानस्थल बन्ने छाटकाट छैन ।’
‘धेरै पटक सुर्खेत नेपालगन्जबाट हवाईजहाज चढेर राजधानी गइयो, कालीकोटबाटै जान पाइन्छ की भन्ने आशा थियो, अव आफ्नै गाउँबाट उड्न पाइन्छकी भन्ने आसपछि छैन, बन्ने भए त ३४ वर्षसम्म बनिसक्थ्यो ।’ विष्टले भने । उनीमात्र होइन जिल्लाको नरहरिनाथ–३ का देविराज उपाध्यायले फिस्स हास्दै भने, ‘३४ वर्ष सम्म नबनेको विमानस्थल अव बन्ला भन्ने आश पनि हराईसक्यो, धेरै बर्ष वितिसक्यो कहिले बन्छ, थाहा छैन ।’ उनले सुनथराली विमानस्थल नाममा मात्र बनेको बताए । झण्डै ३ दशकसम्म पनि विमान स्थल बन्न सकेको छैन । चुनावको बेला धेरै चर्चा हुने विमानस्थलले कालीकोटे जनतलाई आकाशमा उडाउने सपना सपनामै सीमित बनाएको छ ।
चुनावको बेलामा खुव चर्चा पाउने विमानस्थलले चुनावपछि भने महत्व पाएको छैन । सुनथराली विमानस्थलको छेउमै भेटिएका गणेश विष्टले भने, ‘चुनावमा भोट माग्ने वेलामा मात्र सुनथराली विमानस्थल बन्छ भन्छन् ।’ सुनथराली विमानस्थल एउटा भोट माग्ने माध्यम बन्दै आएको छ । राजनीतिक दल र नेताको पहुँच नपुग्नुले विमानस्थल निर्माण कार्य अलपत्र परेको स्थानीयको आरोप छ । ‘यहाँ विमान स्थल बनाउने कुरा चुनावको वेला मात्र चर्चा हुन्छ,’ विष्टले भने, ‘चुनाव सकिएलगत्तै चर्चा पनि सकिने गरेको छ ।’ निर्वाचनताका प्रमुख राजनीतिक दलका मुख्य एजेण्डा नै विमानस्थल बनाउने हुन्छ ।
कालीकोटबाट निर्वाचित भएर जनप्रतिनिधि बनिसकेपछि आफुले चुनावका बेलामा गरेका प्रतिवद्धता विर्षने प्रबृतिले सुनथराली विमानस्थल अहिलेसम्म बन्न नसकेको स्थानीयले बताएका छन् । ०६४ सालभन्दा अगाडि भएका निर्वाचन र त्यसभन्दा पछि भएका निर्वाचनमा निर्वाचित जनप्रतिनिधिले आफ्नो भोट बैंक विमानस्थललाई बनाउने गरेको स्थानीय प्रकाश न्यौपानेले बताए । २०४२ सालमा शिलन्यास गरि निमार्ण थालिएको विमानस्थल ०७६ वित्न लाग्दा पनि नबनेपछि कालीकोटबासीलाई विमानस्थलको कुरा सुन्न पनि मन नलाग्ने गरेको छ ।
यसभन्दा पहिले २०७३ साल माघ २९ गते सुनथराली विमानस्थलमा सफल परीक्षण उडान गरिएको थियो । तत्कालीन पर्यटनमन्त्री जीवनबहादुर शाहीको पहलमा तारा एयरको जहाजले करिव ३ वर्ष अघि सफल अवतरण गरेको थियो । कर्णाली प्रदेशका काँग्रेस संसदीय दलका नेता जीवनबहादुर शाहीले आफुले सोचेजती मन्त्रालय चलाउन नपाएकाले विमानस्थलको काम पछाडि परेको बताए । उनले, ‘साविकको कर्णाली अञ्चलनका जिल्लाहरुमा मोटर बाटो नभएपनि हवाईमार्ग पु¥याउने उद्देश्यले काम थालेको भएपनि आफ्नो कार्यकाल सकिएपछि विमानस्थलले गति लिन नसकेको बताए । कालीकोट विमानस्थलका लागि आफुले पटक पटक प्रयास गरिरहेको भएपनि कालीकोटका नेताहरुले वास्ता नगरेको आरोप उनको छ । गत फागुनमा कालोपत्रेका लागि स्काभेटर विमानस्थलमा पुगेको भएपनि अहिलेसम्म काम सुरु हुन सकिरहेको छैन ।
विमानस्थल स्तरोन्नतीको ठेक्का पाएको गौरी पार्वती शंकर जेभीले अहिलेसम्म काम गर्न सकेको छैन । ठेकेदार कम्पनिले काम गर्नुको सट्टा उल्टै विमानस्थल माथि रहेको भिरबाट गिट्टी बालुवा निकाल्दा पहिरोको डर र क्रास मात्र बढेको नागरिकले गुनासो गरेका छन् । १३ करोड ८६ लाखको लागतमा ठेक्का लिएको निमार्ण कम्पनीले स्टकाभेटर लिएर विमानस्थलमा राखेको भएपनि कालोपत्रेको काम गर्न अझै सकिरहेको छैन ।