२० बैशाख २०८१, बिहीबार

मन्त्री बास्कोटाले दिए राजीनामा



काठमाडौ ९ फागुन ।
सञ्चार तथा सूचना प्रविधि मन्त्री गोकुल बास्कोटाले पदबाट राजीनामा दिएका छन् । सेक्युरिटी प्रिन्टिङ्ग प्रेस खरिदका विषयमा भएको मोलमोलाईको अडियो सार्वजनिक भएपछि विवादमा तानिएका बास्कोटाले राजीनामा दिएको सभामुख अग्निप्रसाद सापकोटाले संसदलाई जानकारी दिएका हुन् ।
सेक्युरिटी प्रिन्टिङ प्रेस खरिदका सम्बन्धमा कमिशनका विषयमा स्वीस कम्पनीका नेपाल प्रतिनिधिसँग रकमका बारेमा गरेको कुराकानी बाहिरिएपछि बास्कोटामा विवादमा तानिएका थिए । ‘यस विषयमा औपचारिक पत्र आउने नै छ । मलाई अनौपचारिक रुपमा जानकारी भए अनुसार सम्बन्धित मन्त्रीले राजीनामा दिइसक्नुभएको छ’ प्रतिनिधिसभाको बिहीबारको बैठकमा सभामुख अग्नि सापकोटाले भने ।
बाँस्कोटा १८ चैत ०७५ मा मन्त्रीमा नियुक्त भएका थिए । उपेन्द्र यादव नेतृत्वको सामाजवादी पार्टीले सरकार छाडेपछि प्रधानमन्त्री केपी शर्मा ओलीले बास्कोटालाई गत २५ पुसमा सहरी विकास मन्त्रालयको पनि जिम्मेवारी दिएका थिए ।
यता, प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले बिहीबारको प्रतिनिधिसभा बैठक अवरुद्ध गरेको छ । सञ्चार तथा सूचना प्रविधिमन्त्री गोकुल बाँस्कोटालाई बर्खास्त गर्नुपर्ने माग गर्दै कांग्रेसले बैठक अवरुद्ध गरेको थियो । सेक्युरिटी प्रिन्टिङ प्रेस खरिद प्रकरणमा स्विस कम्पनीका विचौलियासँग लेनदेनका विषयमा भएको अडियो सार्वजनिक भएपछि कांग्रेसले बास्कोटालाई बर्खास्त गरी अनुसन्धान अगाडि बढाउन माग गरेको छ ।
प्रतिनिधिसभा बैठकमा बोल्दै कांग्रेस सांसद पुष्पा भुसालले बास्कोटाको बर्खास्तीसँगै कारवाही प्रकृयापछि अगाडि बढाउन माग गरिन । उनले सो घटनामा प्रधानमन्त्रीले संसदमा आएर जवाफ दिनुपर्ने माग राखिन् । ‘मन्त्रीलाई बर्खास्त गरेर मात्रै यो विषयले विश्राम लिदैन्,’ उनले भनिन्, ‘यो विषयमा प्रधानमन्त्रीले सबैले सुन्ने गरी संसदमा आएर चित्त बुझ्दो जवाफ दिनुपर्छ ।’
बालुवाटारको जग्गा प्रकरणमा नेकपा महासचिव विष्णु पौडेलले जग्गा फिर्ता गरेकाले कारवाही नभएजस्तै सञ्चारमन्त्रीले राजीनामा दिएपछि कारवाही नगर्ने छुट नभएको कांग्रेसले जनाएको छ । कांग्रेसले आफ्ना मागहरू पूरा नभएसम्म सदन चल्न नदिने बताएको छ ।