५ जेष्ठ २०८१, शनिबार

गाउँपालिकाका प्रत्येक घरधुरी सदस्यलाई मास्क र साबुन वितरण


जुम्ला । हिमा गाउँपालिकाले कोरोना भाइरस (कोभिड–१९) संक्रमणको जोखिम न्यूनीकरण गर्न गाउँपालिकाका प्रत्येक घरधुरी सदस्यलाई मास्क र साबुन वितरण गरेको छ । ‘कोरोना भाइरसको संक्रमणबाट बच्न सबैभन्दा उत्तम उपाय नै साबुनपानीले नियमित हात धुने, भिडभाडमा नजाने र मास्कको प्रयोग हो,’ स्वास्थ्यकर्मी मेनका देवकोटाले भनिन्,’ अहिले यहाँका आमनागरिकलाई यही कुरा सिकाइरहेका छौँ ।’

गाउँपालिका अध्यक्ष रजबहादुर शाहीले कोरोना भाइरसले विश्व नै समस्यामा परेको अवस्थामा साबुन र मास्क बोकेर नागरिकको घरदैलोमा पुग्ने गरिएको बताए । रोग लागेर उपचार गर्नुभन्दा रोग नै लाग्न नदिनु उत्तम भएको भन्दै उनले भिडभाडमा नजान नागरिकलाई आग्रह गर्ने गरिएको बताए ।

यसैबीच, गाउँपालिका उपाध्यक्ष हिमाली रोकायाले आफ्नै व्यक्तिगत खर्चमा स्थानीय र कर्णाली राजमार्गको नाग्म–गमगढी सडक खण्डअन्तर्गत सवार यात्रुलाई समेत मास्क वितरण गरेकी थिइन् । कांग्रेस युवा नेता लक्ष्मण शाहीले पनि मास्क वितरण गर्दै आएका छन् । हिमा गाउँपालिकाको जनसंख्या १२ हजार ६ सय १२ रहेको छ ।

थर्मल स्क्यानर नहुँदा समस्या
सिञ्जा भेगमा पर्ने हिमा गाउँपालिकाले हेल्थडेस्कसहित ६ स्थानमा क्वारेन्टाइन स्थापना गरेको छ । तर, हेल्थडेस्कमा ज्वरो नाप्ने थर्मल स्क्यानर नहुँदा चेकजाँचमा समस्या भइरहेको छ । गाउँपालिका अध्यक्ष शाहीका अनुसार थर्मल स्क्यानर खरिदका लागि धेरै पहल गरिए पनि पाउन नसकिएको बताए । अहिले स्वास्थ्यकर्मीले थर्मोमिटर नै काखीमुनि च्याप्न लगाएर ज्वरो नाप्ने गरिरहेको पनि उनले बताए । भारतमा रोजगारीका लागि गएकाहरू गाउँ फर्किरहेकाले जोखिम उच्च रहेको उनको भनाइ छ ।