२३ बैशाख २०८१, आईतवार

कर्णालीमा आपुर्ती व्यवस्था प्रभावकारी बनाउन समिति गठन


सुर्खेत । कर्णाली प्रदेश सरकारले कोरोना भाईरस (कोभिड–१९)का कारण कर्णालीमा बढ्दो अभावको अन्त्य गर्न र आपुर्ति व्यवस्थालाई प्रभावकारी बनाउने भएको छ । त्यसका लागि कर्णाली प्रदेश सरकारका उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्री नन्दसिं वुढाको नेतृत्वको आपुर्ती समितिलाई सक्रिय बनाउने जनाइएको छ ।
विहीबार कर्णाली सरकारका मुख्यमन्त्रीसहित मन्त्रीहरु र मन्त्रालयका सचिवहरुसहितको बैठकले आपुर्ती व्यवस्था, कोराना संकट समाधानका लागि प्रतिरोध कार्य र स्वास्थ्यकर्मीका लागि आवश्यक औषधी र उपकरणको व्यवस्था प्रभावकारी बनाउने निर्णय गरेको हो । ‘विश्वव्यापी रुपमा देखिएको कोरोना संकटको सामाधान सरकारको तत्कालिन प्राथमिकता हो’ मुख्यमन्त्री महेन्द्र बहादुर शाहीले भने, ‘कारोना रोकथाम तथा प्रतिकार्यको कामलाई उच्च प्राथमिकताका साथ अगाडि बढाउनु पर्दछ ।’
विपद व्यवस्थापन कार्यकारी समिति, अनुगमण समिति, आपुर्ति समिति तथा जिल्ला र स्थानीय तहका समितिहरुलाई थप सक्रिय वनाउन र कोरोना रोकथाम तथा प्रतिकार्यलाई थप प्रभावकारी बनाउन पनि मुख्यमन्त्री शाहीले दिए । स्वास्थ्यकर्मीहरुका लागि आवश्यक उपकरण, औजार, सुरक्षा सामाग्रि र औषधि लगायतका सामाग्री तत्काल आपुर्तीका लागि संघीय सरकार, नीजि आपुर्तीकर्ताहरु, वाह्य आपुर्तिकर्ताहरुलाई अनुरोध गर्ने निर्णय बैठकले गरेको छ ।
कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान जुम्लाले जुम्ला, कालिकोट, मुगु, र हुम्ला जिल्ला, चौरजहारी सामुदायिक अस्पतालबाट रुकुम पश्चिम, जाजरकोट, डोल्पा र पुर्वी सुर्खेत जिल्लाको कार्यक्षेत्र तोकी जनशक्ति परिचालन गर्ने व्यवस्था मिलाउने भएको छ । प्रतिकार्य योजनाको लागि आवश्यक आर्थिक व्यवस्थापन तथा परिचालनका लागि आर्थिक मामिला तथा योजना मन्त्री प्रकाश ज्वालालाई जिम्मेवारी दिएको जनाइएको छ ।
प्रदेश राजधानी र जिल्ला र स्थानीय तहमा रहेका क्वारेन्टाईनको समन्वय सहजीकरण गर्न भुमि व्यवस्था तथा कृषि सहकारी मन्त्री विमला केसी, प्रदेश अस्पताल र जिल्ला अस्पतालहरुमा शंकास्पद विरामीहरुलाई आईसोलेशनमा राख्ने, उपचार गर्ने र जनशक्ति परिचालन गर्ने कार्यको समन्वयको लागि सामाजिक विकास मन्त्री दल रावललाई जिम्मेवारी दिने निर्णय बैठकले गरेको छ ।