१५ बैशाख २०८१, शनिबार

लकडाउनमा धमाधम बन्दै सुनथराली विमानस्थल


कालीकोटः जिल्लाको नरहरीनाथ गाँउपालिका वडा नं. १ मा रहेको सुनथराली बिमानस्थल निर्माणको काम लकडाउनमा पनि धमाधम भईरहेको छ । बिश्वभरी महामारीका रुपमा फैलिएको कोरोना भाईरसको त्रासका कारण जिल्लामा अन्य विकास निर्माणका कामहरु ठप्प भएपनि बिमानस्थल निर्माणको काम भने सामाजिक दुरी कायम गरी नियमित संचालन गरिएको हो । विसं २०४२ सालबाट निर्माण कार्य थालिएको उक्त विमानस्थल परीक्षण उडानमा मात्रै सीमित छ ।
अहिले बिमानस्थलको धावनमार्ग पिज गर्ने, घेरबार गर्ने र टर्मिनल भवन निर्माणको काम भईरहेको छ । निर्माण सुरु भएको ३५ बर्षसम्म जम्मा ४५ प्रतिशत मात्र काम सम्पन्न भएको छ । अझै उक्त बिमानस्थलको ६५ प्रतिशत काम बाँकी छ । बिमान स्थल निर्माण आयोजनाका सुपरभाईजर गणेशकुमार बिष्टका अनुसार हाल काम भईरहेको घेरबारको काम ४० प्रतिशत, धावनमार्ग पिज गर्ने काम २५ प्रतिशत र टर्मिनल भवनको काम भर्खरै सुरु गरिएको छ ।
हाल कालोपत्रे १३ करोड ८६ लाख, घेरबार ३ करोड ३३ लाख, टर्मिनल भवन ३ करोड ४३ लाखको बजेट कार्यन्वयन भईरहेको छ । यस अघि करीव २७ करोड बजेट खर्च भईसकेको छ । लामो समयको पर्खाई पछि २०७३ माघ २९ गते परीक्षण उडान भएको कोटबाडा विमानस्थलमा अहिलेसम्म नियमित उडान हुन सकेको छैन । नियमित उडानका लागि अझै एक बर्ष लाग्ने आयोजना प्रमूख रत्नबहादुर श्रेष्ठले बताए । उनले भने, सुनथराली बिमानस्थलको काम हालसम्म जम्मा ३५ प्रतिशत काम सम्पन्न भएको छ । ६५ प्रतिशत काम बाँकी छ । यो नियमित गर्दा अबको एक बर्ष भित्र पुरा गर्न सकिन्छ । अबको दुई महिना पछि धावन मार्गमा रोडी बिछ्याएपछि जाहाज बस्न सक्छ तर नियमित उडानका लागि पुर्ण रुपमा तयार गर्न एक बर्ष समय लाग्छ । उनले भने, हामीले अहिले निर्माणको काम तिब्र रुपमा बनाई रहेका छौँ । लकडाउनले केही समय काम प्रभावित भयो ।
अब मदजुरहरु पनि थप गरेर कामलाई निरन्तरता दिन्छौँ । जेठको १५ गतेबाट क्रसरको काम पनि सुरु गर्ने तयारी गरेका छौँ । अबको ६ महिना भित्र पिजको काम सक्ने र एक बर्ष भित्र सबै कामहरु सकाउछौँ । बिमानस्थलको काम धमाधम हुन थालेपछि बर्षौदेखी जहाज चढ्ने सपना बोकेका कालिकोटवासीहरु खुसी भएका छन् ।