२१ बैशाख २०८१, शुक्रबार

बारेकोट गाउँपालिका पहिरोको उच्च जोखिममा


सुर्खेत । निरन्तरको बर्षासंगै जाजरकोटको बारेकोट गाउँपालिका पहिरोको उच्च जोखिममा रहेको छ । गाउँपालिकाका १ देखि ९ वटै वडा नै पहिरोको उच्च जोखिममा रहेको कर्णाली प्रदेश सभा अर्थ तथा प्राकृतिक श्रोत समितिले बताएको छ । गएको असार २५ गते गएको पहिरो पश्चात अध्ययन तथा अनुगमन गरेर फर्केको टोलीले गाउँपालिका पुरै जोखिममा रहेको बताएको हो ।

समितीका अध्यक्ष तथा जाजरकोटबाट प्रदेशसभामा निर्वाचित सांसद गणेशप्रसाद सिंहले आइतबार वीरेन्द्रनगरमा पत्रकार सम्मेलन गर्दै बारेकोटका स्थानीय जोखिममा रहेको बताए । ‘दलदले माटोका कारण गाउँपालिकाभित्र जुनसुकै बेला पनी पहिरो जान सक्ने खतरा छ’ उनले भने, ‘नागरिकहरु जोखिम मोलेर त्रासमा बस्न बाधय छन् । घरकोमुनीबाट पानी बगिरहेको छ । ठाउँठाउँमा जमिन र स्थानीयका घरहरु चर्किएका छन् ।’

बारकोटेको ४, ५ र ६ नम्बर वडामा दिर्घकालीन रुपले घर बनाएर बस्ने अवस्था नै नरहेको उनले बताए । यस अघि असार २५ गतेको बारेकोट गाउँपालिका वडा नम्बर ४ सार्कीटोल, ६ को धुमाखोलामा गरी १२ जनाको मृत्यु भएको छ भने २ जना अझै वेपत्ता छन् ।

१२ सय घर विस्थापित
पहिरोका कारण गाउँपालिका भित्रका १२ सय बढी घर विस्थापित भएका छन् । अध्यक्ष सिंहले असार २५ गते र साउन ६ गते गएको पहिरोका कारण १२ सय २ घर परिवार विस्थापित भएको जानकारी दिए । यस अघि बारेकोट गाउँपालिकाले एक हजार ५५ घरधुरी विस्थापित भएको तथ्याङ्क निकालेको थियो । तर ६ गते गएको पहिरोले पुन एक सय ४७ घरधुरी विस्थापित भएकाले तथ्याङ्क बढेको अध्यक्ष सिंहको भनाई छ ।

विस्थापित भएको ठाउँमा तत्कालिन आवश्यक पर्ने खाद्य सामाग्री पु¥याउन समेत कठिन भएको भन्दै उनले सम्पूर्ण क्षेत्रलाई सहयोगको लागि आग्रह समेत गरेका छन् । विस्थापित परिवारको लागि विश्वखाद्य कार्यक्रममार्फत ३ महिनाको लागि खाद्य सामाग्रीको व्यवस्था गरिएको समेत उनको भनाई छ ।

नलगाड जलविद्युत आयोजना जोखिम
पहिरोका कारण निर्माणाधिन नलगाड जलविद्युत आयोजना समेत जोखिममा परेको छ । आयोजनाको मुहान बारेकोट गाउँपालिका भित्र पर्ने भएकाले पहिरोले आयोजनालाई समेत क्षति हुन सक्ने अध्यक्ष सिंहको भनाई छ । बर्षा जारीरहेकाले ठूलो क्षति हुनबाट पूर्व सचेत हुनुपर्ने बताए । १ सय १७ मेघावट क्षमताको नलगाड जलविद्युत आयोजना हाल निर्माणाधिन अवस्थामा रहेको छ ।