२१ बैशाख २०८१, शुक्रबार

कर्णालीका थप चार जनामा कोरोना, ११ जना डिस्चार्ज


सुर्खेत । पछिल्लो २४ घण्टामा कर्णालीका थप चार जनामा कोरोना भाइरसको संक्रमण देखिएको छ । सामाजिक विकास मन्त्रालय कर्णाली प्रदेशका अनुसार प्रदेश अस्पताल, पशुपन्छी रोग अन्वेषण प्रयोगशाला सुर्खेतमा गरिएको परिक्षणमा तीन जना र दैलेख अस्पतालमा गरिएको परिक्षणमा एक जनामा कोरोना देखिएको हो । यो संगै कर्णालीमा कुल संक्रमितको संख्या एक हजार नौ सय १४ पुगेको छ ।

थप ११ जना डिस्चार्ज
पछिल्लो २४ घण्टामा थप ११ जना कोरोना संक्रमित उपचार पछि डिस्चार्ज भएका छन् । प्रदेश अस्पताल सुर्खेतबाट एक जना, गुुर्भाकोट आइसोलेसन सेन्टर सुर्खेतबाट दुई जना, दैलेख अस्पताल आइसोलेसन सेन्टरबाट चार जना र रुकुम पश्चिम अस्पतालबाट चार जना डिस्चार्ज भएका हुन् ।

यो संगै कुल डिस्चार्ज हुनेको संख्या एक हजार छ सय ६९ जना पुगेका छन् ।

कुल संक्रमित मध्ये हाल सम्म छ जनाको मृत्यु भएको छ भने दुई सय ३९ जना सक्रिया बिरामीको उपचार भइरहेको मन्त्रालयले जानकारी दिएको छ ।