१९ बैशाख २०८१, बुधबार

समयमा उपचार नपाउँदा सुत्केरीको मृत्यु


जाजरकोट । जाजरकोटमा समयमा उपचार नपाउँदा एक सुत्केरीको मृत्यु भएको छ । जिल्लाको कुशे गाउँपालिका–५ बाटुलेकी २७ वर्षीया पशुपति पुनको मृत्यु भएको हो । सुत्केरी भएको छ घण्टापछि उनको मृत्यु भएको छ ।

सोमबार बिहान छोरा जन्माएकी उनको सालनाल खस्न ढिलो हुँदा मृत्यु भएको हो । बिहान ४ बजे सुत्केरी भएकी उनलाई ढिलो गरी स्थानीय मेडिकलमा ल्याएर सालनाल निकालिएको थियो ।

सालनाल निकालेलगत्तै बेहोस भएपछि उनको मृत्यु भएको जिल्ला प्रहरी प्रमुख प्रहरी नायब उपरीक्षक किशोरकुमार श्रेष्ठले बताए । पुनले यस अघि दुई छोरीलाई जन्म दिएको प्रहरीले बताएको छ । पशुपतिका श्रीमान् अमृतका अनुसार नवजात शिशुको अवस्था भने सामान्य छ ।