४ जेष्ठ २०८१, शुक्रबार

बाटो भत्केपछि जोखिमयुक्त यात्रा


हुम्ला । सदरमुकाम सिमकोट आउने मुख्य बाटो सडक निर्माणका क्रममा भत्काएपछि पैदल यात्रुहरु भीरबाट हिँड्न बाध्य भएका छन् । कर्णाली तिरको उक्त बाटो भत्किँदा अन्य विकल्प समेत नभएपछि जोखिम उठाएर बटुवालाई हिँड्नै पर्ने बाध्यता भएको हो । काम विशेषले सदरमुकाम सिमकोट आउन लागेका सर्केगार्ड गाउँपालिका वडा नम्बर ४ निवासी जस बहादुर थापाले बोक्चे गौँडामा मुख्य बाटो सडक निर्माणका क्रममा भत्किए पछि भीरमा ज्यानको जोखिम उठाएर हिँड्नु परिरहेको बताए ।

एकातिर सडकले भत्काएको बाटोलाई स्थानीय मिलेर काम चलाउ बाटो बनाए पनि त्यो बाटो पनि वर्षाले भत्काएको हो । उनले तल कर्णाली नदी माथि भीरबाट हिँड्नु पर्दा निक्कै शास्ती खेप्नु परिरहेको बताए। उक्त खण्डको बाटोमा दैनिक सयौँ मानिसहरु ओहोर दोहोर गर्ने गर्दछन् । बुढाबुढी र बालबालिकाहरु हिँड्न सक्ने अवस्था नभएको बताउँदै अर्का यात्रु कुलवीर शाहीले बटुवा हिँड्ने बाटो निर्माणका लागि पहल गर्दा सुनुवाई नभएको बताए ।

शाहीले बाटो मर्मततर्फ बेलैमा नसोचे दुर्घटना नहोला भन्न नसकिने बताए । भीरमा हिँड्न डराउने यात्रुहरु फिर्ता हुनु पर्ने अवस्था रहेको छ भने पशु वस्तु हिँड्न बन्द भएको छ । उक्त क्षेत्रमा हिल्सा सिमकोट सडक आयोजनाले कर्णाली करिडोरको सडक निर्माण गर्ने क्रममा बिष्फोटको कार्य गर्दा यसै पनि बाटो भत्केको थियो ।

सो क्षेत्रमा बटुवा हिँड्नका लागि स्थानीय मिलेर काम चलाउ बाटो निर्माण गरेको र सो बाटो पहिरोले भत्काउँदा भीरबाट ज्यान जोखिममा राखेर हिँड्नु परेको बटुवाले बताएका छन् । आयोजनाले पनि सडक चाडो निर्माण गर्ने तदरुकता देखाएको छैन ।