२० बैशाख २०८१, बिहीबार

स्याउ नफले पछि किसान चिन्तित


हुम्ला । लटरम्म फलेर बोट नै निहुरिनु पर्ने बेला यसपटक भने स्याउको सबै बोटमा फल लागेका छैनन् । स्याउका दाना लाग्ने बेला गबारो किरा लागेपछि स्याउ नफलेको कारण स्याउको बोटले फल टिकाउन सकेनन् । साढे तीन सय बोट स्याउका रुख फलाउदै आएको सिमकोट गाउँपालिका वडा नम्बर ४ का किसान जंग बहादुर शाहीले थोरै अमिलो स्वादका बोट फले पनि अधिकांश बोट खाली रहेको बताए ।

फुल फुल्दा राम्रोसँग फुलेको भएपनि दाना लाग्ने बेला किरा लागेको कारण स्याउ नफलेको हुन सक्ने उनले बताए । वर्षेनी स्याउबाट साढे तीनलाख भन्दा बढी कमाई गर्दै आउनु भएका शाहीलाई यसपाली कमाई नहुने देखिएपछि चिन्ता थपिएको छ । जिल्लाको तल्लो क्षेत्रमा स्याउ पाकेर बजारमा आउनु पर्ने बेला भएपनि नफलेकै कारण नयाँ स्याउ चाक्न पनि नपाएको स्थानीय काली बोहराले बताए । सिमकोट आसपासका क्षेत्रमा भने स्याउ पाक्ने बेला भएको छैन तर पनि नफलेको कारण स्याउ पाउने सम्भावना देखिएको छैन ।

ठूला फार्मका रुपमा स्याउ खेती गर्दै आएका किसानहरु यस वर्ष स्याउ नफलेपछि निक्कै चिन्तित देखिएका छन् । किसान दन्त रावतले जता गएपनि लटरम्भ स्याउ फलेको रुख हुने बेला खाली र किराले पात खादै गरेको रुख देखिने गरेको बताए ।

यसरी सबैतिर स्याउ नफलेको अहिलेसम्म नदेखेको बताउदै रावतले धेरै किसान मर्कामा परेको बताए । हुम्लाका कुनै पनि किसानले स्याउको बोटको बिमा पनि गर्न सकेको छैनन् ।

यसरी यसपाली स्याउ नफल्नुमा मुख्य गरि दाना लाग्ने बेला किरा लागेको कारण अहिले बोट खाली भएको कृषि बिकास कार्यालयका प्रमुख चन्द्रभुषण झाले बताए । दाना खाग्ने बेला सबै किराले खाएपछि अहिले बोट खाली भएको उनले बताए । यो समस्या कुनै एक ठाउँको मात्र नभएर जिल्ला भरिको उस्तै रहेका छ । किराले गर्दा स्याउन नफलेपछि स्याउ उत्पादनमा असी प्रतिशत कमी आउने कार्यालयले जनाएको छ ।