२० बैशाख २०८१, बिहीबार

संवैधानिक आयोगमा नियुक्ति सिफारिस, कांग्रेसको भागमा लोक सेवा


काठमाडौ । संबैधानिक परिषद्ले अख्तियार दुरुपयोग अनुसन्धान आयोग, लोक सेवा आयोगलगायत विभिन्न संवैधानिक आयोगमा रिक्त पदहरूमा नियुक्तिको सिफारिस गरेको छ।प्रधानमन्त्री निवास बालुवाटारमा बसेको परिषद् बैठकले संवैधानिक आयोगमा नियुक्ति सिफारिस गरेको हो ।

स्रोतका अनुसार परिषदले लोक सेवा आयोगको अध्यक्षमा पूर्व सचिव माधव रेग्मीको नाम सिफारिस गरेको छ । पूर्व सचिव रेग्मी नेकपा विभाजन गराइदिने सर्वोच्च अदालतका न्यायाधीश कुमार रेग्मीका आफ्नै दाजु हुन् । नेपाली कांग्रेस निकट रहेका माधव रेग्मीको नाम कांग्रेसको कोटाबाट लोक सेवा आयोगको अध्यक्षमा सिफारिस भएको उच्च स्रोतको दावी छ ।

लोक सेवा आयोगमा नियुक्तीको सिफारिस भएकाहरुमध्ये जसपा अध्यक्ष महन्थ ठाकुरको रोजाइको पात्र समेत रहेको स्रोतको दावी छ । यसअघि भएको संबैधानिक निकायको नियुक्ति सिफारिसमा जसपालाई भाग दिइएको थिएन । यस्तै निर्वाचन आयोगमा पूर्व सचिव वीरबहादुर राईको नाम सिफारिस गरेको छ । अख्तियारमा रित्त रहेको दुई पदमध्ये एउटामा राष्ट्रिय अनुसन्धान विभागका पूर्व प्रमुख दिलिप रेग्मीको नाम सिफारिस भएको स्रोतको दावी छ ।

परिषद् बैठकमा प्रमुख प्रतिपक्षी दलका नेता शेरबहादुर देउवा र प्रतिनिधि सभाका सभामुख अग्निप्रसाद सापकोटा सहभागी थिएनन्। सभामुख र प्रमुख प्रतिपक्षी दलका नेताबिनै परिषद बैठक बस्न सक्ने गरी सरकारले संवैधानिक परिषद अध्यादेश ल्याएपछि कांग्रेसले उक्त अध्यादेशको विरोध गरेको थियो ।