१७ बैशाख २०८१, सोमबार

‘संसद् पुनस्थापना गरेर मात्रै हुँदैन, देउवालाई प्रधानमन्त्रीमा पनि नियुक्ति गरिनुपर्छ’: अधिवक्ता खरेल


काठमाडौं । आइतबार संसद् विघटनसम्बन्धी सुनुवाइका क्रममा संवैधानिक इजलासमा वरिष्ठ अधिवक्ता सतीशकृष्ण खरेलले विघटनसम्बन्धी मुद्दामा प्रतिनिधिसभा पुनर्स्थापना गरेर मात्र नहुने बताएका छन् । 

बहसका क्रममा उनले संसद् पुनःस्थापनासँगै कांग्रेस सभापति शेरबहादुर देउवालाई प्रधानमन्त्रीमा नियुक्तिको आदेश पनि हुनुपर्ने माग राखेका हुन् ।

देउवाले बहुमत सांसद्को हस्ताक्षरसहित दावी गरेकाले उनलाई नै प्रधामन्त्रीमा नियुक्तिको आदेश हुनुपर्ने बताएका हुन् ।  खरेलले भने, ‘आदेश जारी गर्दा प्रतिनिधि सभा पुनर्स्थापना गरेर बाँकी संसदमै हुन्छ भनेर हुदैन । अहिलेसम्म बहुमत कायम राखेका देउवालाई प्रधानमन्त्री नियुक्तिको आदेश हुनुपर्छ र यो अनिवार्य छ । किनभने ओलीले पटक पटक सम्वैधानिक दायरा नाघिसक्नुभएको छ ।’

उनले राष्ट्रपति र प्रधानमन्त्रीको व्यवहारका कारण पनि देउवालाई प्रधानमन्त्रीमा नियुक्तिको आदेश हुनुपर्ने तर्क राखेका छन् । धारा ७६ (५) अनुसारको सरकार गठनमा राष्ट्रपतिले आफ्नो संवैधानिक दायित्व पूरा गरेको नदेखिएको भन्दै उनले राष्ट्रपतिले पनि आफूलाई सुधार गर्नुपर्ने बताए ।

गत मंसिरमा प्रतिनिधिसभाको विशेष अधिवेशन माग गर्दै राष्ट्रपति कार्यालय पुगेका तत्कालीन नेकपा सांसदहरु भीम रावल र पम्फा भुसालले घण्टाैं राष्ट्रपति कार्यालयमा कुर्दासमेत निवेदन दर्ता नभएको वरिष्ठ अधिवक्ता खरेलले स्मरण पनि गराए ।