१७ बैशाख २०८१, सोमबार

भत्कायो बाढीले पूर्व-पश्चिम राजमार्गको पुल


चितवन । लगातारको वर्षासँगै आएको बाढी र पहिरोले चितवनमा क्षति पुर्‍याउन थालेको छ। यहाँका राप्ती, बुढीराप्ती, लदरी, कयर र लोथर खोलामा बाढी आउँदा पूर्वी चितवनको जनजीवन प्रभावित बन्न थालेको छ।

पूर्वी चितवनको खैरहनी र राप्तीको सीमा क्षेत्रमा बग्ने लदरी खोलामा आएको बाढीले धुसरी पुल भत्काइदिएको छ। उक्त पुल भत्किँदा पूर्व-पश्चिम राजमार्ग अवरुद्ध भएको छ।

अहिले लदरी खोलो पूर्व-पश्चिम राजमार्गमा पसेको स्थानीयले बताएका छन्। खोला राजमार्ग हुँदै बस्तीतर्फ छिर्न थालेपछि स्थानीय त्रसित छन्।

बुढी राप्ती खोलामा आएको बाढीले सौराहा र आसपासका क्षेत्र प्रभावित बनेका छन्। यो खोलो चित्रसारीबाट सौराहा प्रवेश गर्ने सडकभन्दा परसम्म पुगेको छ। यो खोलोले रत्ननगर-८ बाघमारास्थित रमाइलो बस्तीका २१ घर डुबानमा परेका छन्। त्यहाँका स्थानीयलाई सुरक्षित स्थानमा सारिएको छ। रतननगर-७ का मैनाहा र मालपुरमा पनि बाढी पसेको छ।

बुधबारदेखि नै परेक‍ो वर्षाका कारण रातिदेखि नारायणगढ-मुग्लिन सडक खण्ड अवरुद्ध छ। उक्त सडकमा आधा दर्जन बढी स्थानमा पहिरो खसेको जिल्ला प्रहरीका प्रवक्ता डिएसपी सूर्यबहादुर थापाले जानकारी दिए।