३ जेष्ठ २०८१, बिहीबार

प्रतिनिधिसभा विघटन : ओली पक्षका वकिलकाे सकियो बहस


काठमाडौं । प्रतिनिधिसभा विघटनविरुद्ध सर्वोच्च अदालतमा परेको रिट निवेदनमा शुक्रबार प्रधानमन्त्री केपी शर्मा ओली पक्षका वकिलहरुको बहस सकिएको छ ।

सरकारी पक्षबाट सोमबारदेखि सुरु भएको बहसमा शुक्रबार ओलीका निजी वकिलहरुले बहस गरेका थिए ।महान्यायाधिवक्ता रमेश बडालले सोमबार बहस सुरु गरेका थिए । संवैधानिक इजलासमा अब सभामुखका वकिलहरुको बहस बाँकी छ ।

उक्त बहस आइतबार हुनेछ । बहसका लागि सरकारी पक्षलाई १५ घण्टाको समय दिइएको थियो । त्यसमा सरकारी वकिल र प्रधानमन्त्रीका वकिलले सातसात घण्टा बहस गरेका थिए ।त्यही समयबाट सभामुखका वकिललाई एक घण्टा समय छुट्याइएको छ । उनका तर्फबाट आइतबार बहस हुनेछ ।

प्रधानन्यायाधीश चोलेन्द्रशम्शेर जबरा तथा न्यायाधीश दीपककुमार कार्की, मीरा खड्का, ईश्वरप्रसाद खतिवडा र डा. आनन्दमोहन भट्टराईको संवैधानिक इजलासमा सुनुवाइ भइरहेको छ ।

प्रधानमन्त्रीका तर्फबाट बहस गर्ने कानुन व्यवसायीले संवैधानिक अधिकार प्रयोग गरेर प्रतिनिधिसभाको विघटन गरिएको तर्क गरेका थिए । साथै राष्ट्रपतिमाथि आदेश दिन नमिल्ने तर्क सरकारी पक्षका वकिलहरुको थियो ।

त्यसअघि बहस गरेका विपक्षी गठबन्धनका वकिलहरुले प्रतिनिधिसभा पुनःस्थापना मात्रै नभई सर्वोच्चबाटै कांग्रेस सभापति शेरबहादुर देउवालाई प्रधानमन्त्रीमा नियुक्तिको अन्तरिम आदेश दिन माग गरेका थिए ।