५ जेष्ठ २०८१, शनिबार

पचालझरनामा ३ करोड ३१ लाखमा पदमार्ग बन्दै


 

सुर्खेत । कालीकोट जिल्लाको पचालझरना गाउँपालिका–३ खार्दुमा रहेको पचालझरनामा जानका लागि रु.३ करोड ३१ लाखकाे लागतमा पदमार्ग बन्ने भएको छ । संस्कृति, पर्यटन तथा नागरिक उड्यान मन्त्रालयको आर्थिक सहयोगमा पदमार्ग बन्न लागेको हो ।

नेपालकै तीन सय ८१ मिटर अग्लो  पचालझरनासम्म जानका लागि पदमार्ग बनाउन लागिएको गाउँपालिकाका अध्यक्ष खड्कराज सेजुवालले जानकारी दिए । ‘पदमार्गको कार्तिक ३० गते शिलान्यास गर्ने कार्यक्रम रहेको छ ।’ उनले भने, ‘पदमार्ग निर्माण भए पर्यटकलाई झरनाको अवलोकन गर्न सजिलो हुनेछ ।’

संस्कृति, पर्यटन तथा नागरिक उडड्यन मन्त्रालयले नयाँ १०० पर्यटकीय गन्तव्यहरुमा कालिकोटको पचालझरनालाई सुचीकृत भएको छ ।

कालीकोट जिल्लाको पचालझरना गाउँपालिकाको खार्दुमा रहेको झरनाको लम्बाइ ३ सय ८१ मिटर भएको दाबी गरिन्छ । तर, सरकारले प्राबिधिक जाँच गरेको छैन् ।

वि.स.२०७४ सालमा पचालझरना गाउँपालिकाले २ दिन लगाएर गरेको अध्ययनले यो तथ्य पत्ता लगाएर पचालझरनाको उचाइ मापन गर्दा ३ सय ८१ मिटर रहेको गाउँपालिका प्राबिधिक कुलप्रसाद न्यौपानेले दाबी गरे । ‘पचालझरनाको अध्ययन गर्न स्थानीय जनप्रतिनिधि, कर्मचारी, संघ संस्थाको संग्लनता हामीले गत बर्ष उचाई मापन गरेका हौं ।’ उनले भने,‘भने,‘जिपिएस अन्य विधिबाट उचाइ मापन गरेका छौं ।’

पचालझरना नेपालकै सबैभन्दा अग्लो झरना भएको गाउँपालिकाको दाबी रहेको छ । स्थानीय तह बनेसगैँ पचालझरना गाउँपालिकाको पहलमा नाप लिएर पचालझरना नेपाल कै सबैभन्दा अग्लो भएको गाउँपालिका अध्यक्ष सेजुवालले बताए ।

पचालझरनाको वास्तबिक उचाई ३ सय ८१ मिटर रहेको,  यसभन्दा अघि नेपाल कै अग्लो झरना मानिएको तेह्रथुमको ह्यातुङ झरनाको उचाई ३६५ मिटर मात्र रहेको अध्यक्ष सेजुवालले दाबी गरे ।

ह्यातुङभन्दा पचालझरनाको उचाई १६ मिटर बढी अग्लो रहेको गाउँपालिकाका अध्यक्ष सेजुवालले बताए । ‘पचाल झरनाको उचाई ह्यातुङभन्दा १६ मिटर बढी पाइएको छ ।’ उनले भने,‘यो नै संम्भवत नेपालकै ठुलो झरना हो ।’