२४ बैशाख २०८१, सोमबार

कालीकोट काँग्रेसले १ महिने जागरण अभियान संचालन गर्ने


कालीकोट । नेपाली काँग्रेसले मंसिर १ गते जिल्लामा १ महिने जागरण अभियान सुरु गर्ने भएको छ । सबै पालिका, क्षेत्र, गाउँ र नगर, वडा र टोलसम्म विस्तारित हुने जागरण अभियान पुस १ गतेसम्म सञ्चालन हुनेछ ।
स्थानीय तहको अवस्था बुझ्न र नागरिकका समस्यालाई उजागार गर्नका लागि काँग्रेस कालीकोटले १ महिना अभियान संचालन गर्ने निर्णय गरेको छ । नेपाली काँग्रेस जिल्ला कार्य समिति कालीकोटको यहि कात्तिक २५ र २६ गते बसेको बैठकले कालीकोटमा काँग्रेसलाई बलियो बनाउनका लागि १ महिने अभियान संचालन गर्ने निर्णय गरेको छ ।
गाउँ टोलतिर संगठनको अवस्था बुझ्ने, मतदाताको तथ्यांक बारे छलफल गर्न, उमेर पुगेका मतदाता नामावलीमा दर्ताको भुमिका बुझ्न कालीकोटमा काँग्रेसलाई बलियो बनाउनका लागि स्थानीय नागरिकसंग छलफल गर्न भन्दै १ महिने अभियान संचालन गर्ने भएको छ ।
कालीकोट काँग्रेसले ३० वर्षदेखि कालीकोटमा कुनै पनि निर्वाचनमा जित हासिल गर्न सकेको छैन । आगामी हुने स्थानीय तह, प्रदेशसभा र प्रतिनिधिसभा निर्वाचनमा काँग्रेसलाई बिजयी गराउनका लागि विभिन्न समयमा अभियान संचालन गर्ने र नेपाली काँग्रेस जनताकै माझमा रहने काँग्रेस सभापति अम्बबहादुर शाहीले बताए । उनले भने, मंसिर १ गतेदेखि जिल्लाव्यापी रुपमा हामीले जागरण अभियान संचालन गर्ने र्छौ ।
त्यसका लागि प्रत्येक पालिकामा संयोजक तोकिसकेको छ । १ महिनासम्म चल्ने अभियानका लागि नरहरिनाथ गाउँपालिकामा कालीबहादुर विष्ट, सान्नित्रिवेणी गाउँपालिकामा नेत्रप्रसाद देवकोटा, रास्कोट नगरपालिकामा नौले लुहार, तिलागुफा नगरपालिकामा टिकाराम न्यौपाने, पचालझरना गाउँपालिकामा पटक शाही, पलाता गाउँपालिकामा केशरसिंह बम, खाडाचक्र नगरपालिकामा भक्तबहादुर शाही शुभकालीका गाउँपालिकामा अभयराज शाही र महावै मनराज शाहीलाई संयोजक तोकेको छ ।