६ जेष्ठ २०८१, आईतवार

वीरेन्द्र चाेकमा राजाकाे शालिक नराखेकाे भन्दै अधिवेशनमा तोडफोड


सुर्खेत । राष्ट्रिय प्रजातन्त्र पार्टीले आयोजना गरेको कर्णाली प्रदेश एकता अधिवेशनमा केही युवाहरुले तोडफोड गरेको छन् ।

वीरेन्द्रनगरस्थित जिल्ला समन्वय हलमा आयोजना गरिएको कार्यक्रममा केही युवाहरु एक्काशी प्रवेश गरेर तोडफोड गरेको प्रचार प्रसार विभाग सदस्य प्रेम विसीले जानकारी दिए ।‘अधिवेशनका लागि कार्यक्रम आयोजना शुरु गर्ने तयारीमा थियौं,’ विसीले भने, ‘एक्काशी आठ-दश जनाको समुहले हलमा राखिएका कुसीहरु तोडफोड गरे ।’ राप्रपा युवा मोर्चाका केन्द्रीय सदस्य दिपेन्द्र बुढाको नेतृत्वमा आएको समूहले तोडफोडमा उत्रिएको विसीले बताए । प्रहरीले तीन जनालाई नियन्त्रणमा लिएको छ ।

युवाहरुले वीरेन्द्र चोकमा स्व. राजा वीरेन्द्रको शालिक राख्ने विषयमा विवाद गरेका थिए । कार्यक्रममा सहभागी प्रमुख अथितिहरुलाई शालिक राख्न सहमत हुने की नहुने भन्दै माग राखेका थिए । राख्ने विषयमा कुरा भइरहेको बेला अन्य युवाहरुले आक्रमण गरेको विसी बताउँछन् ।

अभिवेशनमा राप्रपाका पार्टीका पूर्व उपाध्यक्ष एवम् केन्द्रीय विशेष समिति सदस्य विक्रम पाण्डे, पूर्व मन्त्री कुन्ति शाही कार्यक्रममा सहभागी छन् । केहीबेर स्थगित भएकाे अधिवेशन शुरू गर्न लागिएकाे प्रचार प्रसार विभाग सदस्य विसीले बताए । अहिले अधिवेशन स्थलमा प्रहरी समेत खटिएकाे छ ।