२३ बैशाख २०८१, आईतवार

मुगुका आगलागी पीडितलाई कर्णाली प्रदेश सरकारले राहत उपलब्ध गराउने


सुर्खेत । मुगुको छायानाथ रारा नगरपालिका–१ गमगढीमा भएको आगलागी पीडितलाई तत्काल कर्णाली प्रदेश सकारले राहत उपलब्ध गराउने भएको छ । कर्णाली प्रदेश विपद् व्यवस्थापन केन्द्र (पीसीएमसी) को आकस्मिक बैठकले आगलागी पीडितलाई राहत उपलब्ध गराउने निर्णय गरेको हो ।
आगलागी पीडितहरुका लागि तत्कालीन राहत स्वरुप खाद्यान्न, लत्ताकपडा, भाँडावर्तन र टेन्ट उपलब्ध गराउने निर्णय गरेको मुख्यमन्त्री तथा मन्त्रीपरिषद्को कार्यालयले जनाएको छ ।
आगलागीको पीडितको अवस्था बुझ्नका लागि मुख्यमन्त्री जीवनबहादुर शाही स्थलगत अनुगमनका लागि आजै मुगु जाने कार्यक्रम रहेको उनको सचिवालयले जनाएको छ ।
मुख्यमन्त्री शाहीको स्थलगत अनुगमन र स्थानीय प्रशासनले क्षतिको यकिन विवरण उपलब्ध गराएपछि थप राहत प्याकेज कर्णाली प्रदेश सरकारले पीडितहरुलाई उपलब्ध गराउने निर्णय भएको मुख्यमन्त्री तथा मन्त्री परिषद्को कार्यालयले जनाएको छ ।
सोमबार राती भएको आगलागीमा मुगुको छायानाथ रारा नगरपालिका–१ गमगढी बजारमा आगलागी हुँदा २१ घर जलेर नष्ट भएका थिए ।