२३ बैशाख २०८१, आईतवार

गमगढी आगलागीमा ५० करोडको क्षति, लामाको घरबाट यसरी सल्केको थियो आगो


सुर्खेत । मुगुको गमगढी बजार सोमबार रातिको भीषण आगोले सखाप पार्‍यो । राति १२ बजेबाट पुरानो गमगढी बजारमा लागेको आगोले ठूलो क्षति पुर्‍याएको छ । जिल्ला प्रहरी कार्यालय मुगुका प्रमुख प्रहरी नायब उपरीक्षक ९डीएसपी० चित्रबहादुर भट्टराईका अनुसार आगोले २१ घर जलेर पूर्ण रूपमा नष्ट भएको छन् ।

पूर्ण विवरण नआए पनि ५० करोडभन्दा बढीको क्षति भएको अनुमान गरिएको डीएसपी भट्टराईले बताए ।आगलागीमा परेर मानवीय क्षति भने भएको छैन ।

बस्तीमा भएको आगलागी पर्याप्त स्रोत साधन नहुँदा निभाउन समस्या भएको थियो । स्थानीय, प्रहरी, नेपाली सेना र सशस्त्र प्रहरीको टोलीले बिहान ४ बजेमात्रै आगो नियन्त्रणमा लिएको थियो ।

डीएसपी भट्टराईका अनुसार छिन्ने लामाको घरबाट आगो लाग्न सुरु भएर अन्य घरहरूमा फैलिएको खुलेको छ । ‘छिन्ने लामाको घरबाट आगलागी सुरु भएको देखिन्छ । लामाहरूले रातिको समयमा पूजा गर्ने चलन रहेछ । पूजाका लागि घरमा बालिएको दियोबाट आगो सल्केको देखिन्छ । दियोको आगो काठमासमेत सल्केपछि घरमा आगलागी भएको हो,’ भट्टराईले भने ।

उनले दियोबाट सल्केको आगोले भीषण रूप लिएपछि बजार नै सखाप पारेको बताए ।