२० बैशाख २०८१, बिहीबार

जुम्लाका ८८ प्रतिशत बालबालिकालाई कोरोनाविरुद्ध खोप


जुम्ला । जुम्लामा ८८ प्रतिशत बालबालिकालाई कोरोनाविरुद्धको खोप लगाइएको छ । १२ देखि १८ वर्षमुनिका १२ हजार पाँच सय ५५ बालबालिकालाई मोडर्ना खोप लगाइएको जनस्वास्थ्य कार्यालय जुम्लाको तथ्यांकमा उल्लेख गरिएको छ ।

यस्तै, जुम्लामा १२ वर्षभन्दा माथिका खोप प्राप्त गर्नुपर्ने लक्षित जनसंख्या ८२ हजार पाँच सय १३ छ । यसमध्ये पहिलो मात्र खोप लगाएको संख्या ६० हजार ६ सय ९२ जना अर्थात् ७२ दशमलव ५५ प्रतिशत रहेको छ । पूर्ण मात्रामा खोप लगाएको संख्या ३७ हजार तीन सय ४९ जना अर्थात् ४५ दशमलव २६ प्रतिशत रहेको प्रमुख जिल्ला अधिकारी विजयाकुमारी प्रसाईंले बताइन् ।

संक्रमित ६० पुगे
कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान शिक्षण अस्पताल जुम्लाका ३२ जना स्वास्थ्यकर्मीसहित ६० जनालाई कोभिड– १९ संक्रमण देखिएको छ । ९८ जनालाई एन्टिजेन परीक्षण गर्दा ४५ जनालाई र १७ जनालाई पिसिआर परीक्षण गर्दा १५ जनालाई संक्रमण देखिएको हो ।

संक्रमणको तेस्रो लहरमा लक्षण देखिएका व्यक्तिहरूलाई कोभिड परीक्षण गर्ने अवस्थामा ३२ जना स्वास्थ्यकर्मीलाई संक्रमण भएको प्रतिष्ठानका मेडिकल रेकर्डर मेघराज बुढाले बताए । कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान शिक्षण अस्पताल जुम्लाको आइसोलेसनमा राखेर चारजना उपचारत छन् । अन्य सबैमा होम आइसोलेनमा छन् ।