५ कार्तिक २०८१, सोमबार

आदिवासी जनजातीले सञ्चालन गरेको एक महिने प्लम्बर तालिम सम्पन्न


सुर्खेत । आदिवासी जनजाती महासंघ नगर समन्वय परिषद् वीरेन्द्रनगर सुर्खेतले सञ्चालन गरेको एक महिने प्लम्बर तालिम सम्पन्न भएको छ । वीरेन्द्रनगरका युवाहरुलाई स्वरोजगार बनाउने लक्ष्यका साथ सञ्चालन भएको तालिम शुक्रबार एक कार्यक्रमका बीच सम्पन्न भएको हो ।

आदिवासी जनजाती महासंघ नगर समन्वय परिषद् वीरेन्द्रनगर सुर्खेतको आयोजना र वीरेन्द्रनगर नगरपालिकाको आर्थिक सहयोगमा प्लम्बर तालिम सञ्चालन भएको थियो ।

तालिममा २० जना सहभागी भएको उनीहरुलाई एडभान्स तालिम दिइएको आदिवासी जनजाती महासंघ नगर समन्वय परिषद् वीरेन्द्रनगर सुर्खेतका अध्यक्ष खड्कबहादुर  तारमी मगरले जानकारी दिए । ‘हामीले बेरोजगार युवाहरुलाई रोजगारी दिने लक्ष्यका साथ तालिम सञ्चालन गरेका हौं ।’ उनले भने,‘यस तालिम लिएका युवाहरुले आफैँ रोजगारी गरेर खान सक्नेछन् भन्ने विश्वास लिएका छौं ।’

तालिमपछि समापन कार्यक्रममा बोल्दै प्रमुख अतिथिका रहेका वीरेन्द्रनगर नगर कार्यपालिका सदस्य नवराज गुरुङ तालिममा सहभागीहरुलाई तपाईंले जीवन निर्वाहका लागि पेसाको रुपमा अगाल्न सुझाव दिए । ‘जीवन निर्वाहका लागी एक महिनासम्म तालीम लिनु ठुलो कुरा होइन् ।’ उनले भने,‘तर, जिवनमा लागु गर्नु पर्नेछ ।’

कार्यक्रममा नेपाल आदिवासी जनजाती महासंघ सुर्खेतका कार्यबाहक अध्यक्ष अशोक राजीले आदिवासी जनजातीहरुले इन्मान्दार पूर्वक आफ्नो पेशामा लागेर सिकेको सीपलाई व्यवहारमा उतार्नु पर्ने बताए । ‘यहाँ सिकेको सीपलाई व्यवहारका ल्याउनुपर्छ ।’ उनले भने,‘तालिम लिएर मात्र केही हुँदैन् । काम सानो ठुलो पनि हुँदैन् ।’
तालिमपछि सहभागीहरुलाई प्रमाण–पत्र वितरण गरिएको थियो ।