९ असार २०८१, शनिबार

कलाकार बिहानी, जसले जनताका गीत गाइरहेका छन्


सुर्खेत । कालीकोट जिल्लाको खाँडाचक्र नगरपालिका–१ को कोइरेल गाउँमा जन्मिएका हुन्, जनकलाकार विहानी विक । विपन्न दलित परिवारमा गरिबी, अभाव र अशिक्षाको अन्धकारलाई चिर्दै वर्ग संघर्षको भट्टीमा खारिएका मनबहादुर विश्वकर्मा अर्थात विहानी विक गीत, संगीत र सिर्जनाका त्रिवेणी हुन् । २०४२ साल असार ७ गते आमा कौशी लुवार र बुवा कर्णबहादुर लुवारको जेष्ठ सुपुत्रका रुपमा जन्मिएका विहानीले ६ वर्षे बाल्यकालदेखि नै गीत, संगीतमा अनौपचारिक सहभागी हुँदै आफ्नो जीवनलाई संगीत क्षेत्रमा समर्पण गर्दै आएका छन् ।

२०४६ सालको जनआन्दोलनको प्रभावले तातिएको कालीकोट उत्पीडन र पिछडौपनका विरुद्ध २०५२ मा सञ्चालित जनयुद्धले सघन प्रभावित भयो । उनी जातीय उत्पीडन मात्र नभई मानव जातिकै मुक्तिको स्वर्णिम सपना सजाउँदै २०५६ माघमा पूर्णकालीन भै बाल छापामारको रुपमा शसस्त्र युद्धमा सहभागी भए । विद्यालयमा पुस्तक बोकेर हिँड्ने कलिलो उमेरमा एक हातमा बन्दुक र अर्को हातमा गिटार बोकेर जुम्ला, कालीकोटका वस्तीहरुमा जागरणका गीत गाउँदै, नाच्दै र लेख्दै जनकलाकार रक्तिम विहानीको सांगितिक जीवनमा निखार आएको हो ।

उनको परिवारमा पाँच भाई, दुई वहिनीमध्ये साइलो र काइलो भाई बितिसक्नु भएको छ भने माईला भाई नरेन्द्र बिक, कान्छा भाई दीर्घ बिक, बैनि फुटौरा र तारा बिक परिवारका सदस्यमा छन् ।
उनी जनयुद्धको एक कुशल जनकलाकार प्रगति हिङमाङसँग विवाह बन्धनमा बाँधिए । उनका एक छोरा, दुई छोरी छन् । छोरी सदिक्षा बिक कक्षा सात र छोरा विपीनुर कक्षा १ मा अध्ययनरत छन् । हाल रक्तिम विहानीको परिवार संघिय राजधानीमा बसोबास गर्छन् ।

सांगितिक यात्रा
गीत, संगीत सिर्जना एवम् गायनमा सक्रिय जनकालकार रक्तिम विहानी बाल्यकालमा हुड्के, देउडा, ठाडीभाकाजस्ता लोकसंगितबाट प्रभावित भएका हुन् भने उनको सांगितिक क्षमताले जनयुद्धको आँधीवेहरीमा नै प्रस्फुटित हुने अवसर प्राप्त गर्यो ।

२०५६ मा जनयुद्धमा सहभागी भएपछि काञ्जिरोवा साँस्कृतिक परिवारमा उनी बाद्यवादक, गायक र नृत्यकारको भूमिका निर्वाह गरे । एक जनकलाकारका रुपमा जुम्ला, कालीकोट, दैलेख, जाजरकोट, सुर्खेत, बाँके, बर्दिया, अछाम, रुकुम, रोल्पा, सल्यानमा साँस्कृतिक अभियान लिएर जनचेतना अभिवृद्धि गर्दै निरन्तर यात्रा जारी राखे ।

जनयुद्धको अवधिमा २०० भन्दा बढी जनपक्षीय गीतहरु लेख्नुका साथै झन्डै ३०० गीतमा संगीत भरे उनले । समयको फेरवदलसँगै शान्तिप्रक्रिया पछि मात्र गीतको रेकर्डिङ् तथा भिडियो निर्माणको सुविधा प्राप्त भयो । हाल जनकलाकार विहानीका सिर्जना, संगीत र गायन रहेका झन्डै २०० भन्दा बढी गीतहरुले चर्चा कमाई रहेका छन् ।

जनकालकार विहानीले काँडेतार, भाग्यको खेल, यो कस्तो माया जस्ता चलचित्र, ए हो र ?, दिमाग खराब टेलिश्रृंखलामा पनि संगीत गरेका छन् । उनका दुनियाँ, उषा, क्षितिज,  म अधुराे, परेली, मन, गणतन्त्र नामक एल्वमहरु पनि प्रकाशित भएका छन् । १६० भन्दा बढी पूर्वेली, देउडा, लोकगीत तथा आधुनिक गीतहरुको एरेन्ज संयोजनको काम पनि बिहानी गरेका छन् ।

राजनीतिक तथा जेल जीवन
सामन्ती राजतन्त्र, मुखियातन्त्र तथा ठालुतन्त्रले गिजोलिएको काीलकोटमा मल्ल, शाही ठकुरी शासकीय दमन तथा उत्पीडनले आक्रान्त दलित वस्तीमा जनआन्दोलन र जनयुद्धले विद्रोहको चेत भरिदियो । शोषण र उत्पीडन बिरुद्धको जनविद्रोहको रापतापले १४ बर्षको कलिलो उमेरमै बिहानी प्रभावित भए र जनयुद्धमा होमीए ।

२०५६ देखि जनयुद्धमा सहभागी भै जनकलाकार हुँदै जनमुक्ति सेनाको समेत भूमिका निर्बाह गरेका बिहानीले जनयुद्धको ऐतिहासिक प्रक्रियामै २०६१ माघमा सुर्खेतमा तत्कालीन शाही नेपाली सेनाले गिरफ्तार गरी साँढे तीन महिना तत्कालीन शाही सेनाको हिरासतमा चरम यातना समेत भोगे । सेनाको चरम यातनाबाट उनको दायाँ हात, बायाँ खुट्टा भाँचिएको छ भने टाउकोमा गम्भीर चोट लागेको थियो । चार ओटा बङ्गारा मात्र झारिएन विद्युतीय करेन्ट लगाउँदा आँखाको ज्योतीसमेत गुमेको छ । उनीमाथि माघ फागुनको जाडोमा चिसो ढलानमा आँखामा पट्टि हातमा हत्कडी, खुट्टामा नेल बाँधेर अनेक जुलुम तथा उत्पीडन लादियो । शाही सेनाको चरम यातना र उत्पीडनलाई पचाए पछि उनलाई जेल चलान गरियो । सुर्खेत जेलमा १८ महिनाको कारावास पछि २०६२÷०६३ को सफल जनआन्दोलन पछि रिहा गरियो ।

बिहानीको संलग्नता
२०५६ सालको माघमा नेकपा (माओवादी) जुम्ला कालीकोटको पूर्णकालीन सदस्यबाट राजनीतिक जीवनको आरम्भ गरेका रक्तिम विहानी २०५७ सालमा एरिया कमिटि सदस्य, काञ्जिरोवा जनसाँस्कृतिक परिवारको कोषाध्यक्ष, २०५८ सालमा काञ्जिरोवा परिवारको सचिब, २०५९ सालमा उपाध्यक्षको जिम्वेवारी बहन गरे ।

जनयुद्धको फैलदो लहरले आधार इलाकाको निर्माण र विस्तार हुँदै गर्दा जनसाँस्कृतिक क्षेत्रमा पनि निकै ठूलो प्रगति भएको थियो । त्यही सिलसिलामा जनकलाकारहरुका पनि कम्पनी निर्माण भएका थिए । उनी काञ्जिरोवा साँस्कृतिक कम्पनिको प्रथम कमाण्डर भए । नेकपा माओबादी जुम्ला जिल्ला कमिटि सदस्य समेत बने ।

२०६३ भदौबाट जनमुक्ति सेना नेपालको छैटौं डिभिजन तेर्सो बटालियनको सैन्य साँस्कृतिक समुहमा र त्यस पछि डिभिजन कलाकारमा कार्यरत हुँदै २०६४ सालमा पुनः नेकपा (माओवादी) को कालीकोट जिल्ला कमिटि सदस्य, चुलि जनसाँस्कृतिक परिवारको अध्यक्ष, जनसाँस्कृतिक महासंघ भेकको सदस्य, पश्चिमी सामाना साँस्कृतिकक समूह सदस्य भई काम गरे ।

२०६७ सालमा नेपाली एकता समाज भारतको प्रदेश कमिटि सदस्य, जनसाँस्कृतिक मञ्चको सहसंयोजक हुँदै ६ बर्ष सम्मको भारतको बसाइमा संगीतमा डिप्लोमा अध्ययन गरी पुन: उनि नेपाल फर्किए । तत्पश्चात् २०७१ सालमा अखिल नेपाल जनसाँस्कृतिक महासंघ केन्द्रीय समिति सदस्य, जनकलाकार संघको डिओसी सचिब, २०७३ सालमा नेकपा (माओबादी केन्द्र) को केन्द्रीय सदस्य, नेकपा माओवादी समाजवादी स्थायी कमिटि सदस्य, जनसाँस्कृतिक महासंघ फ्याक्सन इन्चार्ज हुँदै हाल नेकपा केन्द्रिय सदस्य, जनसाँस्कृतिक महासंघ केन्द्रिय उपाध्यक्ष, सेमभेक इन्चार्जकाे जिम्मेवारी बहन गरिरहेका छन् ।

सम्मान, पुरस्कार
कलाकार बिहानी बिक समाज रुपान्तरण र परिवर्तनको पक्षमा गीत, संगीत एवम् गायनमा क्रियाशील छन् । उनका सिर्जनाले वर्गीय तथा जातीय मुक्ति मात्र होइन मानव जातिको पक्षमा आवाज मुखरित गरेका छन् । उनको सांगितिक क्षेत्रको योगदानको कदर गर्दै विभिन्न संघ संस्थाले उनलाई सम्मानित तथा पुरस्कृत गरेका छन् ।

लोकदोहोरी प्रतिष्ठान कदर पत्र २०७०, उत्कृष्ट गीति पुरस्कार नेपाल सरकार राष्ट्रिय नाचघर ०७१, सर्बजित भगत अन्तराष्ट्रिय पुरस्कार ०७२÷०७३, नेपाल सरकार रेडियो नेपाल कदर पत्र २०७२, सामुहिक गायन तर्फ २०१८ मा गिनिज बुकमा नाम लेख्न सफल, गणतान्त्रिक सम्मान २०७५ ले सम्मानित भएका बिहानी उत्कृष्ट देउडा गीत नेसनल पावर न्युज अवार्ड २०१८, ईच्छुक साँस्कृतिक सम्मान २०७६, लुम्बिनी भूमिमेकर फिलिम्स प्रा.लि.सम्मान २०७८, सर्बोत्कृष्ट गीतकार छैटौं मनास्लु राष्टिय अवार्ड, सर्बोत्कृष्ट गीतकार तर्फ दोश्रो ग्रेट नटराज राष्टिय म्यूजिक अवार्ड २०७९ बाट पनि सम्मानीत भएका छन् ।