३० भाद्र २०८१, आईतवार

त्रिदेशीय टी-२० सिरिजमा नेपालले हङकङलाई दियो २१४ रनको लक्ष्य


त्रिदेशीय टी-२० सिरिजमा नेपालले हङकङलाई २१४ रनको लक्ष्य प्रस्तुत गरेको छ । शनिबार मुलपानी क्रिकेट मैदानमा टस जितेर ब्याटिङ रोजेको नेपालले २० ओभरमा ६ विकेट गुमाएर २१३ रन बनाएको हो।

नेपालका लागि कुशल मल्ल र दीपेन्द्रसिंह ऐरीले अर्धशतक रन पूरा गरेका छन् । मल्लले ४१ बलमा ९२ रन बनाएर आउट भए। उनले तीन चौका र ९ छक्का प्रहार गरेका छन्।

यस्तै दीपेन्द्रसिं‌ह ऐरीले ३४ बलमा ५७ रन बनाएका छन्। उनले ६ चौका र दुई छक्का प्रहार गरी अर्धशतक पूरा गरेका हुन्।

ओपनर आसिफ शेखले १३ बलमा २० रन पूरा गरी आउट भएका थिए। कप्तान रोहित पौडेलले ११ रन, सोमपाल कामीले ८ रन र ओपनर कुशल भुर्तेल २ रन बनाएर आउट भएका थिए। नेपाल, हङकङ र युएईबीचको टी-२० सिरिजमा नेपालले दुई खेलमा जित हात पारेको छ।

यसअघि गत बिहीबार नेपालले हङकङमाथि ६ विकेटको जित हात पारेको थियो। गत बुधबार नेपालले युएईलाई ७ विकेटले पराजित गरेको थियो।

आइतबार हङकङ र युएईबीच खेल हुनेछ। सोमबार नेपाल र युएई, बुधबार हङकङ र युएईबीच र फाइनल खेल शुक्रबार हुनेछ।

अंक तालिकाको शीर्ष स्थानमा रहने दुई टिमबीच शुक्रबार फाइनल हुनेछ।