२४ माघ २०८१, बिहीबार

हमास आक्रमणमा परी मृत्यु भएकामध्ये चार विद्यार्थीको शव आफन्तले बुझे


धनगढी । गत असोज इजरायलमा हमास आक्रमणमा परी मृत्यु भएकामध्ये चार विद्यार्थीको शव आज आफन्तले बुझेका छन् ।

एयर बसमा धनगढी ल्याइएको शवलाई आज बेलुकातिर धनगढी विमानस्थलबाट आफन्तले बुझेर लगेका हुन । इजरायलमा मृत्यु भएका जोशीपुर गाउँपालिका –५ मैनापोखरका आशिष चौधरी, घोडाघोडी नगरपालिका –४ का नारायणप्रसाद न्यौपाने, दार्चुला मालिकार्जुन –४ का लोकेन्द्रसिंह धामी, लेकम –५ को दीपेशराज विष्टको शव इजरायलबाट ल्याइएको हो ।

मृतक सबैका आफन्तले शव बुझेर लगेको जिल्ला प्रशासन कार्यालयका सूचना अधिकारी शिवराज जोशीले जानकारी दिनुभयो । शव बुझ्नेक्रममा मृतकका आफन्तलाई नेपालका लागि इजरायली राजदूत हनान गोडेरले भेटघाट गरेको उहाँले जानकारी दिनुभयो ।

लर्न एण्ड अर्न कार्यक्रम अन्तर्गत सुदूरपश्चिम विश्वविद्यालयको कृषि विज्ञान क्याम्पसबाट इजरायल गएका १० जना विद्यार्थीको हमास आक्रमणमा परी मृत्यु भएको थियो । मृत्यु भएकामध्ये सात जना सुदूरपश्चिम प्रदेशका रहेका छन् । मृतक अरुको शव ल्याउन बाँकी रहेको छ ।