५ जेष्ठ २०८१, शनिबार

मन्त्री ज्यू, हाम्रो गाउँमा बिकास कहिले हुन्छ ?


सुर्खेत  । कालिकोटको नरहरीनाथ पुगेका कर्णाली प्रदेशका आर्थिक मामिला तथा योजना मन्त्री वेदराज सिंहलाई गाउँका बिकासका लागि बजेट विनियोजन गर्न माग गरेका छन् । स्थानीय सरकारका प्रतिनिधी बाहेक अन्य सांसद र मन्त्रीहरु विरलै पुग्ने नरहरीनाथ पुगेर मन्त्री सिंहले स्थानीयसंग भलाकुसारी गरे । स्थानीयका समस्या सुने र क्रमशः समाधान गर्न पहल गर्ने आश्वासन दिए । स्थानीयले आफ्ना समस्या राखे, गुनासो गरे । गाउँमै प्रदेश सरकार पुगेको महशुस गरे ।
पहिलो पटक मन्त्री गाउँमा पुगेपछि स्थानीयले गाउँको बिकासका लागि प्रदेश सरकारले आवश्यकता अनुसार बजेट विनियोजन गर्न नसकेको गुनासो सुनाए । ‘मन्त्रीज्यूलाई हामीले पहिलो पटक गाउँमा भेट्न पाएका छौ’ नेकपा एमाले जिल्ला कमिटी सदस्य सन्ताेष महताराले भने, ‘यहाँका समस्याहरु बारे जानकारी लिएर समस्या समाधानका लागि मन्त्रीज्यूले पहल गर्नु हुनेछ ।’
नेपाली काँग्रेस नरहरीनाथ गाउँ पालिकाका सभापति रामबहादुर बटालाले सुनथराली विमानस्थल सञ्चालनका लागि पहल गर्न, पालिकाका सबै वडामा सडक सञ्जाल पु¥याउन, खानेपानी, सडक, विद्युत, सिंँचाई, शिक्षा र स्वास्थ्यका लागि आवश्यक पुर्वाधार निर्माण, जनशक्तिको व्यवस्था गरिदिन माग गरे । ‘गाउँमा थुप्रै समस्याहरु छन्’ उनले भने, ‘मन्त्री ज्यूले यहाँको भुगोल अनुसार योजनामा बजेटका लागि आग्रह गर्दछौ ।’ कतिपय बस्तीमा खानेपानी समस्या रहेको, अधिकांश वडाहरु विद्युतको उज्यालोबाट बञ्चित रहेको, सिंँचाइको अभावलगायतका समस्या रहेको उनले बताए ।
गाउँपालिकाको केन्द्र कुमालगाउँ मन्त्री सिंहलाई स्थानीयले पहिले फूलमाला लगाएर भव्य स्वागत गरे । त्यसपछि सोधे, ‘लालीघाटदेखि पालिका केन्द्रसम्म जोड्ने सडकको अवस्था कहिले सुधार हुन्छ ? गाउँपालिकाका प्रायः सबै वडामा सोलारको उज्यालो मात्र छ । ‘त्यो पनि मज्जाले घाम लाग्दामात्रै राति बल्छ’, स्थानीय देवीराज उपाध्यायले भने, ‘बिजुली नहुँदा समस्यै समस्या छ, घाम नलागे पछि सोलार चार्ज नहुँदा यहाँको टेलिफोन सेवा समेत अवरुद्ध हुन्द्ध ।’ राजनितिक दलका नेताहरु चुनावका समयमा गाउँमा आएर विभिन्न आश्वासनहरु बाड्ने भए पछि चुनाव जितेर गए पछि गाउँमा नफर्किएको स्थानीयको गुनासो छ ।

स्थानीय आवश्यकता परिचान गरी बजेट बनाउछौँः मन्त्री सिंह

स्थानीयको भव्य स्वागतसंगै गुनासो सुनेपछि मन्त्री सिंहले आफ्नो कार्यकालमा स्थानीय आवश्यकता अनुसार योजना र कार्यक्रम ल्याउने प्रतिबद्धता जनाए । सबै आवश्यकता एकै पटक पुरा गर्न नसकिने भए पनि प्राथमिकताका आधारमा क्रमशः पुरा गरिने उनको भनाई छ । ‘कर्णालीका सबै ठाउँमा उस्तै खाले समस्या छन्’ उनले भने, ‘प्रदेश सरकारको सिमित स्रोत साधनबाट एकै पटक पुरा गर्न सम्भव छैन क्रमशः बिकासले गति लिने छ ।’
गाउँको बिकासका लागि प्रदेश र केन्द्रबाट योजना बनाउन नहुने भन्दै आफु स्थानीय आवश्यकता बुझ्न गाउँ आएको उनले बताए । ‘सुर्खेत र काठमाडौबाट निर्माण भएका योजनाले गाउँका समस्या सम्बाधेन गर्न सक्दैनन्’ उनले भने, ‘गाउँको वास्तविकता बुझ्न गाउँबाटै योजना छनोट गरिनु पर्दछ ।’ उनले सडकको स्तरोन्नती, खानेपानी, कृषि, स्वास्थ्य क्षेत्रको बिकासका लागि सरकार गम्भीर रहेको बताए ।
व्यवस्था परिवर्तन भए पनि नागरिकको अवस्था परिवर्तन हुन नसकेको भन्दै उनले अब जनताको अवस्था परिवर्तन गर्ने गरी सरकारले योजना बनाउने उनले बताए । कर्णालीको बिकासका लागि स्थानीय उत्पादनमा बृद्धि गरी त्यसको बजारीकरण गर्नु पर्नेमा मन्त्री सिंहको जोड छ । स्थानीय उत्पादन बढाउने उद्यमशिलतामा जोड दिँदै बार्षिक १० हजार नागरिकलाई रोजगारी सिर्जना गर्ने महात्वाकांक्षी योजना सरकारको रहेको उनले बताए । पछिल्ला दिनमा वर्तमान व्यवस्थाप्रति निराशा उत्पन्न गर्न विभिन्न क्षेत्रबाट प्रयास भएको भन्दै त्यसप्रति सजग बन्न उनले आग्रह गरे । कर्णालीमा सबै क्षेत्रको बिकासले मात्र समृद्ध कर्णाली बनाउन सकिने भन्दै समग्र क्षेत्रको बिकास सरकारको प्राथमिकतामा रहेको उनले बताए ।

बिकासका लागि सबै तहको सहकार्य आवश्यकः प्रमूख सचेतक बिष्ट

कर्णाली प्रदेश सभा सदस्य तथा नेपाली काँग्रेस प्रमूख सचेतक हिक्मतबहादुर बिष्टले कालिकोटको समग्र बिकास अहिलेको आवश्यकता भएको भन्दै त्यसका लागि प्रदेश सरकारसंग आफुले पहल गरिरहेको बताए । चुनावका बेला नागरिक सामु गरिएका प्रतिबद्धता र यहाँको आवश्यकता अनुसार बिकास गर्न सरकारसंग बजेट माग गरेको उनको भनाई छ । ‘कालिकोटको बिकासका लागि सबै राजनितिक पार्टी र सबै तहका सरकारको सहकार्य अपरिहार्य भएको उनको भनाई छ ।
कालिकोटको बिकासका लागि एउटै क्षेत्रको बिकासले नहुने भन्दै समग्र बिकास जरुरी भएको उनले बताए । ‘हामीमा कुनै क्षेत्रको बिकास भएको छैन’ उनले भने, ‘शिक्षा, स्वास्थ्य, रोजगारी लगायतका क्षेत्रका हामी पछाडि छौ, त्यसैले समग्र बिकास एकसाथ लिएर अगाडि बढ्नुको बिकल्प छैन ।’ यातायात र विद्युतीकरणले कालिकोटको कृषि, जडिबुटी, पर्यटन लगायतका क्षेत्रको बिकास गर्न सकिने् उनको भनाई छ ।

भलिबल प्रतियोगिता उद्घाटन र अस्पताल घोषणा

कालिकोट भ्रमणमा रहेका मन्त्री सिंहले शान्नि त्रिवेणी गाउँपालिकामा आयोजित त्रिवेणी गोल्डकप उद्घाटन र नरहरीनाथ गाउँपालिकाले सञ्चालन गरेको १५ शैयाको योगी नरहरीनाथ अस्तपालको समेत घोषणा गरेका छन् । भलिवल प्रतियोगिता उद्घाटन गर्दै मन्त्री सिंहले खेलक्षेत्रको बिकासले कर्णालीका युवाहरुलाई देश बिदेशमा चिनाउन मद्यत पुग्ने बताए ।
कर्णाली सेवा समाजले आयोजना गरेको प्रदेश स्तरीय भलिवल प्रतियोगिता उद्घाटन गर्दै उनले खेलकूदका माध्यमबाटको देशलाई चिनारी विश्वसामु चिनाउन सकिने बताए । खेलकूलले व्यक्तिलाई मात्र नभई समग्र देशलाई चिनाउने उनको भनाई छ । उनले कर्णालीको खेलकूद बिकासका लागि प्रदेश सरकारले कार्यक्रम र बजेटमा प्राथमिकता दिएको बताए ।
नरहरीनाथको अस्पताल उद्घाटन गर्दै मन्त्री सिंहले अस्पतालमा आवश्यक उपकरण, भौतिक संरचना र दक्ष जनशक्तिको व्यवस्थापनका लागि प्रदेश सरकारले पालिकासंग सहकार्य गर्ने बताए । अस्पताल घोषणाले मात्र नागरिकलाई स्वास्थ्य सेवामा पहुँच पु¥याउन नसकिने भएकोले उपचारमा नमूना बनाउने गरी सेवा प्रवाह गर्नु पर्नेमा उनको जोड छ ।