५ जेष्ठ २०८१, शनिबार

नरहरीनाथमा १५ शैय्याको अस्पताल सञ्चालन


कालिकोट । नरहरीनाथ गाउँपालिकाले १५ शैय्याको अस्पताल सञ्चालनमा ल्याएको छ । साविकको कुमालगाउँ प्राथमिक स्वास्थ्य केन्द्रको भवनमा पूर्वाधार थपेर योगी नरहरीनाथ अस्पताल सञ्चालन गरिएको हो । कर्णाली प्रदेश सरकारका आर्थिक मामिला तथा योजना मन्त्री बेदराज सिंहले अस्पतालको उद्घाटन गरेका हुन् ।
अस्पताल उद्घाटन गर्दै मन्त्री सिंहले नागरिकलाई स्वास्थ्यमा सहज पहुँच पु¥याउन अस्पतालबाट गुणस्तरीय सेवा प्रदान गरिने बताए । ‘गाउँघरमै गुणस्तरीय स्वास्थ्य सेवाका लागि अस्पताल प्रभावकारी हुनेछ’ उनले भने, ‘अस्पताल सञ्चालन पछि सामान्य विरामी हुँदा पनि लाखौ खर्च गरेर नेपालगन्ज, सुर्खेतलगायतका स्थानहरुमा धाउनु पर्ने छैन ।’ उनले अस्पतालका लागि आवश्यक जनशक्ति, भौतिक संरचना तथा आवश्यक उपकरणका खरिदका लागि स्थानीय सरकारसंग सहकार्य गर्ने आश्वासन दिए । संविधानले स्वास्थ्य उपचारलाई मौलिक हकको रुपमा सुनिश्चित गरेकाले योगी नरहरीनाथ अस्पतालले त्यसको प्रत्याभूति दिने बताए ।
कर्णाली प्रदेश सभा सदस्य तथा नेपाली काँग्रेस संसदीय दलका नेता हिक्मतबहादुर बिष्टले अस्पताल सञ्चालन पछि गाउँका नागरिकहरुले सहज रुपमा स्वास्थ्य सेवा पाउने विश्वास गरे । ‘भौगोलिक विकटताका कारण बिरामीलाई बोकेर टाढा लैजानु पर्ने समस्याको अन्त्य हुनेछ’ बिष्टले भने, ‘नरहरीनाथ गाउँपालिकासंगै छिमेकी पालिकाका नागरिकलाई पनि यसले सेवा प्रवाह गर्न सक्नेछ ।’ नेपाली काँग्रेस कर्णाली प्रदेशका प्रवक्ता दमनबहादुर शाहीले  अस्पतालले नरहरीनाथबासीलाई मात्र नभई कालिकोट र छिमेकी जिल्लाका नागिरकलाई समेत सेवा पुर्याउने विश्वास व्यक्त गरे । अस्पताललाई नमूना बनाउन सबै तहको सहकार्य आवश्यक हुने उनको भनाई छ ।

नरहरीनाथ गाउँपालिका अध्यक्ष नगेन्द्रबहादुर बिष्टले आफुले चुनावको बेला गरेको प्रतिबद्धता अनुसार स्वास्थ्यलाई प्राथमिकतामा राखेर काम गरेको बताए । गाउँपालिकाबासीलाई आधारभूत स्वास्थ्य उपचार सहजरुपमा उपलब्ध गराउन गरिब विभिन्न तथा पछाडिपारिएका समुदायका नागरिकका लागि स्वास्थ्य वीमा गराई उपचारमा सहज बनाइएको भन्दै आफ्नो कार्यकालभित्र पालिकाका सबै नागरिकको स्वास्थ्य बीमा गरी पूर्ण स्वास्थ्य बीमायुक्त पालिका बनाउने योजना रहेको उनले बताए ।
नेकपा माओवादी केन्द्रका प्रदेश सदस्य अग्रबहादुर बिष्टले प्राथमिक स्वास्थ्य केन्द्रको स्तारोन्नतीसंगै नरहरीनाथबासीले सहज स्वास्थ्य सेवा पाउने विश्वास गरे । अस्पताल घोषणाले मात्रै नहुने भएकाले प्रभावकारी सेवा प्रवाहमा जोड दिन प्रदेश सरकार र स्थानीय सरकारलाई आग्रह गरे । जिल्ला अस्पताल कालिकोटका व्यवस्थापक संकेत विश्वकर्माले सबै क्षेत्रको सहयोग र सहकार्यले अस्पतालको सेवा प्रभावकारी बनाउन सकिने बताए । जिल्ला अस्पतालका जनस्वास्थ्य अधिकृत कटक महतले १५ शैयाको अस्पतालमा मापदण्ड अनुसार भौतिक संरचना र जनशक्ति व्यवस्थापन गर्न सबै तहका सरकारको सहकार्य जरुरी भएको बताए ।
अस्पतालमा हाल एक जना मेडिकल अधिकृतसहित २१ कर्मचारी कार्यरत रहेका नरहरीनाथ गाउँपालिका स्वास्थ्य शाखा प्रमूख मनबहादुर सहकारीले जानकारी दिए । अस्पततालमा चौबिसै घण्टा इमर्जेन्सी सेवा, प्रसुति, भिडियो एक्सरे, प्रयोगशाला र फार्मेसी सेवा उपलब्ध गराईने सहकारीले बताए ।