२१ कार्तिक २०८१, बुधबार

चिसोका कारण ७ भूकम्पपीडितको मृत्यु


जाजरकोट । चिसोका कारण जाजरकोटमा ७ जनाको मृत्यु भएको छ। भूकम्पका कारण घरमा क्षति पुगेपछि त्रिपालमा बस्दै आएका उनीहरुको मृत्यु भएको हो।
शनिबार २ जना, शुक्रबार २ जना, बुधवार १ जना र अघिल्लो शुक्रबार २ जना भूकम्पपीडितको चिसोका कारण मृत्यु भएको हो। मृत्यु हुने सबै वृद्धवृद्धा हुन्।
जुनीचाँदे गाउँपालिका–४ लुहादहकी ८९ वर्षीया सुगिली नेपाली र छेडागाड नगरपालिका–१३ थानवाडाकी ५६ वर्षीया मनसरी कामीको शनिबार मृत्यु भएको हो। मनसरी दमकी दीर्घरोगी भएको र त्रिपालको चिसोले दम बढेपछि उनको ज्यान गएको छेडागाड नगरपालिकाका उपप्रमुख चन्द्र थापाले बताए।
जाजरकोट बारेकोट गाउँपालिका- ४ का ७९ वर्षीय नरेन्द्रबहादुर सिंह र बारेकोट-१ का ७० वर्षीय डुमे पुनको शुक्रबार मृत्यु भएको हो। डुमे दमरोगी थिए। त्रिपालभित्रको बसाइ र अत्यधिक चिसोको काण उहाँको ज्यान गएको बारेकोट गाउँपालिका अध्यक्ष वीरबहादुर गिरीले बताए।
यस्तै भेरी नगरपालिका- २ का ८८ वर्षीय धुलेश्वर कार्कीको बुधवार मृत्यु भएको छ।
यसैगरी अघिल्लो शुक्रबार नलगाड नगरपालिका ४ का च्युरीदाराका ८४ वर्षीय गोपालबहादुर रावल र ८४ वर्षीया पम्फा रावलको मृत्यु भएको थियो।
त्रिपालको सहारामा रात कटाएका अधिकांश गाउँमा १५/२० जना बिरामी रहेको सम्बन्धित जनप्रतिनिधिहरूले जनाएका छन्।
सबैभन्दा बढी क्षति पुगेको नलगाडमा चिसोले अधिकांश भूकम्पपीडितमा विभिन्न स्वास्थ्य समस्या देखिएको नगरप्रमुख डम्बरबहादुर रावतले बताए। चिसोका कारण झाडापखाला, ज्वरो, रुघाका बिरामी बढेको उनले बताए।
त्रिपालमुनिको बसाइका कारण बालबालिका, सुत्केरी, दीर्घरोगी र वृद्धवृद्धा बढी प्रभावित भएका छन्। बालबालिका र वृद्धवृद्धामा श्वासप्रश्वाससम्बन्धी समस्या देखिन थालेको छ।