५ जेष्ठ २०८१, शनिबार

महिला अधिकार स्थापित गर्न सचेतना जरुरी: मन्त्री जिसी


सुर्खेत । कर्णाली प्रदेशका आन्तरिक मामिला तथा कानुनमन्त्री कृष्णबहादुर जिसीले महिलाको अधिकार स्थापित गर्न सचेतना जरुरी भएकाे बताएका छन् । महिला हिंसाविरुद्धको १६ दिने अभियानको क्रममा राष्ट्रिय महिला आयोगले सुर्खेतको वीरेन्द्रनगरमा आयाेजना गरेकाे  अन्तरक्रिया कार्यक्रममा मन्त्री जिसीले महिलाको अधिकार स्थापित गर्न राज्यले थप पहल र लगानी गर्ने बताए ।

महिला हिंसा निवारणका लागि सुरक्षा निकायसँग रणनीतिक योजना बैठकमा मन्त्री जिसीले अहिले पनि महिलाहरु विभिन्न खाले हि‌ंसा भाेग्न बाध्य भएकाे भन्दै त्यसकाे अन्त्यका लागि सचेतना जरुरी भएकाे बताए । घरेलु हिंसा, ज्यालादारीमा विभेद, सामाजिक, सांस्कृतिक, आर्थिकलगायतका कारणले महिलामाथि हिंसा भइरहेको उनकाे भनाइ छ ।  महिलामा पर्ने विविध समस्याको न्यूनीकरणका लागि सरकार गम्भीर रहेको उनले बताए ।  महिला अधिकारको सुनिश्चितताका लागि तीन वटै तहका सरकारबिच सहकार्य र समन्वय हुनुपर्ने र महिला अधिकारसम्बन्धी राष्ट्रिय ऐन, नियम र नीतिको कार्यान्वयनमा सबै पक्ष गम्भीर हुनुपर्ने उनकाे भनाइ छ ।

राष्ट्रिय महिला आयोगकी अध्यक्ष कमला पराजुलीले महिला हिंसाको अवस्था बढ्दोक्रममा रहेको बताईन् । अन्य प्रदेशको तुलनामा कर्णाली प्रदेशमा महिला हिंसा बढी हुनेगरेको भए पनि न्यायको पहुँचमा कमै मात्र आउने गरेको उनको भनाइ छ । लैङ्गिक हिंसा नियन्त्रणका लागि प्रहरीका सबै संयन्त्र परिचालन गरिएको कर्णाली प्रदेश प्रहरी कार्यालयका प्रहरी नायव महानिरीक्षक भीमप्रसाद ढकालले बताए । चालु आवको यो अवधिसम्म प्रहरीमा पाँचसय तीन उजुरी दर्ता भएको उनले जानकारी दिए । उनका अनुसार सबैभन्दा बढी जबरजस्ती करणीका मुद्दा छन् ।