५ जेष्ठ २०८१, शनिबार

सुर्खेत विमानस्थलको विकल्प नभएको ठहर



सुर्खेत । वीरेन्द्रनगर नगरपालिकाभित्र रहेको सुर्खेत विमानस्थलको विषयमा मंगलबार वीरेन्द्रनगर नगरपालिकाले सर्वदलीय बैठक नै राख्यो । बैठकमा सुर्खेतस्थित सम्पूर्ण राजनीतिक दलका प्रतिनिधि, नागरिक समाज, निजी क्षेत्र, सांसद तथा स्थानीय जनप्रतिनिधि सहभागी थिए । भेरीगंगाको रामघाटमा नयाँ विमानस्थल बनाउने चर्चासँगै झस्किएका सरोकारवालाहरुले वर्तमान विमानस्थललाई नै विस्तार गर्नुपर्ने विषयमा जोड दिँदै छलफल चलाएका हुन् ।

पूर्वी क्षेत्रमा बन्ने नयाँ विमानस्थल सञ्चालनमा आए वर्तमान विमानस्थलमा रुख रोप्ने कुराले झस्किएका सरकारी निकाय तथा सरोकारवालाहरुले विस्तारका क्रममा हुने समस्या समाधान गर्न तयार रहेको र वर्तमान विमानस्थलको विकल्प नरहेको निष्कर्ष निकालेका छन् ।  नगरप्रमुख मोहनमाया ढकालले विमानस्थल विस्तार कार्यमा नगरपालिकाबाट कुनै बाधा नरहेको बताइन् । यद्यपि यसअघि विस्तारका लागि जग्गा रोक्का प्रक्रिया अघि बढिसक्दा नगरपालिकाले नै वैकल्पिक विमानस्थल खोज्नुपर्ने तर्कसहितको निर्णय गरेको थियो ।

जनताको प्रतिनिधित्व गर्ने भन्दै ०७७ माघ ५ गते नगरपालिकाले प्रदेशको उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्रालय र केन्द्रको संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयलाई पत्र लेख्यो । पत्रमा भनिएको छ, ‘धावनमार्ग विस्तारको सम्बन्धमा सो क्षेत्रका स्थानीय बासिन्दाबाट विस्तार कार्य अघि नबढाउन अनुरोध भई आएको सम्बन्धमा सो क्षेत्रमा विमानस्थल विस्तारमा कठिनाइ देखिएकाले सुर्खेत जिल्लाको अन्य नयाँ वैकल्पिक स्थानमा विमानस्थलको खोजी गरी निर्माण गर्ने व्यवस्था हुन प्रदेश सरकार तथा संस्कृति, पर्यटन, नागरिक उड्डयन मन्त्रालयमा अनुरोध गर्ने ।’

त्यो बेला नगरको प्रमुख देवकुमार सुवेदी थिए भने उपप्रमुख वर्तमान मेयर ढकाल नै थिइन् । विमानस्थल विस्तार नहुनुको प्रमुख कारण यही थियो भने त्यो बेला एमाले नेता यामलाल कँडेलमाथि पनि विस्तार कार्यमा सहयोग नगरेको आरोप लागेको थियो । जब नयाँ विमानस्थलका लागि भेरीगंगामा प्रक्रिया अघि बढ्यो, तबमात्रै कँडेल, नगरपालिकाका जनप्रतिनिधिले वर्तमान विमानस्थललाई नै विस्तार गर्नुपर्ने पक्षमा आफूलाई उभ्याएका छन् ।

मंगलबारको सर्वदलीय बैठकमा सहभागी पूर्व मेयर सुवेदीले त्यो बेला जनताको मागलाई नै मध्यनजर गरेर विस्तार कार्य स्थगित गर्न भनिएको स्वीकार गरे । ‘मेरो अध्यक्षतामा बसेको बैठकले नै निर्णय गरेको हो, त्यो बेला प्रभावित हुने क्षेत्रका जनताहरु म कहाँ आएर रोएका थिए,’ उनले भने ।

सुवेदीले घुमाउरो तरिकाले त्यो बेला विस्तार कार्यमा केही व्यक्तिहरुले सहयोग नगरेको पनि बताए । उनले विकासमा रोटी सेक्ने काम नगर्न पनि चेतावनी दिए । ‘त्यो बेला एकातिर जनताहरु आक्रोशित भएको तर, अर्कोतिर प्रदेश सरकार लगायतका निकायले आवश्यक प्रक्रिया नपु¥याएकाले वैकल्पिक बाटो खोलिएको हो,’ सुवेदीले भने । यद्यपि मंगलबारको सर्वदलीय बैठकमा भने सबैले एक मतका साथ वर्तमान विमानस्थलको विकल्प नरहेको निष्कर्षसहित स्थानीयस्तरबाट हुनुपर्ने काममा सहजीकरण गर्नेमा सहमति जनाएका छन् ।

मध्यपश्चिम विश्वविद्यालयका पूर्व डीन एवम् नागरिक समाजका अगुवा पिताम्बर ढकालले विमानस्थलमा राजनीतिकरण भएको बताउँदै वीरेन्द्रनगरलाई कसैले पनि खण्डहर बनाउन नपाइने तर्क राखे । ‘वीरेन्द्रनगरमा धेरै लगानी भइसकेको छ, अनि यस्तो ठाउँमा भएको विमानस्थल विस्थापित हुन्छ भनेपछि वीरेन्द्रनगरको अस्तित्व कहाँ जान्छ ?’ ढकालले प्रश्न गरे ।

मुआब्जा चलनचल्तीको दररेट अनुसार दिनुपर्ने

वर्तमान विमानस्थलको उत्तरतर्फको धावनमार्ग एक हजार दुई सय ५५ मिटरको छ । धावनमार्ग साँघुरो हुँदा ठुला जहाज अवतरणमा समस्या छ । तत्कालीन मुख्यमन्त्री महेन्द्रबहादुर शाहीको अध्यक्षतामा बसेको बैठकले उक्त धावनमार्ग विस्तार गर्नुपर्ने निर्णय गरेको थियो ।

सोही अनुसार सम्झौता भएर पनि जग्गा रोक्काको प्रक्रियासमेत अघि बढिसकेको थियो । यद्यपि जीवनबहादुर शाही मुख्यमन्त्री भएर आएपछि स्थानीयसँग कुनै छलफल र आवश्यक पहल नै नगरी विस्तारको च्याप्टर ‘क्लोज’ गरिदिएका थिए ।

धावनमार्ग तीन सय मिटर विस्तार गर्दा वीरेन्द्रनगर नगरपालिका १०, ११ र १२ वडाका करिब ९०० घरधुरी, हजारौँ विद्यार्थी रहेको अमरज्योति विद्यालय प्रभावित हुनेछन् । प्रभावित क्षेत्रका नागरिकको तर्फबाट बोलेका अमरज्योति विद्यालय व्यवस्थापन समितिका अध्यक्ष पूर्ण पौडेलले त्यो बेला जनताले उचित मुआब्जाको माग गरेको स्मरण गराए । तर, तत्कालीन प्रदेश सरकारले जनताको मागको सुनुवाइ नगरेर जनता तर्साउने काम गरेको उनले बताए ।

उचित मुआब्जाको व्यवस्थापन भए जनता विमानस्थल विस्तारकै पक्षमा रहेको उनको भनाइ छ । सरोकारवालाहरुले प्रभावित जनतालाई सरकारी दररेटमा नभई अहिले चलनचल्तीमा आएको दररेटका आधारमा मुआब्जा दिनुपर्ने धारणा राखे । निजी क्षेत्रका अगुवाहरु पदमबहादुर शाही, लक्ष्मण कँडेल लगायतले वर्तमान विमानस्थल विस्तारको विकल्प नरहेकाले निजी क्षेत्रबाट गर्नुपर्ने सम्पूर्ण सहयोग गर्न तयार रहेको बताए ।

कार्यक्रममा सहभागी प्रतिनिधिसभा सदस्य हृदयराम थानी, प्रदेशसभा सदस्यहरु यामलाल कँडेल, जानकी सिंहले पनि विमानस्थल विस्तार गर्नुपर्ने कुरामा सबै एकताबद्ध भएर अघि बढ्नुपर्ने धारणा राखे । कँडेलले भने, ‘स्थानीय स्तरमा नगरपालिकाले आफ्नो पहल ग¥यो, त्यसमा सहजीकरण गर्ने विषयमा हामी गरौँला तर, गर्ने भनेको संघीय सरकारले हो । तलको सबै समस्या समाधान भए माथिबाट गर्ने कुरामा गरौँला ।’ कँडेलले मुआब्जा चलनचल्तीकै दरमा दिने र विद्यालयको भवन पहिला नै बनाइदिने गरी अघि बढ्नुपर्ने बताए । प्रतिनिधिसभा सदस्य थानीले पनि वर्तमान विमानस्थललाई नै विस्तारमा सबै एकजुट हुनुपर्ने तर्क राखे ।