६ जेष्ठ २०८१, आईतवार

कालिकोटमा फागुन १३ गतेदेखि दादुरा खोप लगाईने


वीरेन्द्रनगर । कालिकोट जिल्लाका १७ हजार बालबालिकालाई दादुरा रुबेलाविरुद्धको खोप लगाइने भएको छ । स्वास्थ्य सेवा कार्यालय कालिकोटले जिल्लाका नौ वटा स्थानीय तहमा नौ महिनादेखि पाँच वर्ष मुनिका रहेका १७ हजार ४ सय १७ जना बालवालिकालाई खोप दिने भएको हो ।

पछिल्लो समय बालवालिकामा दादुरा देखापर्न थालेपछि त्यसबाट बालवालिकालाई मुक्तगर्न खोप दिन थालिएको हो । स्वास्थ्य सेवा कार्यालय कालिकोटले दुई चरणमा खोप अभियान सञ्चालनगर्ने जनाएको छ ।

पहिलो चरणमा खाँडाचक्र नगरपालिका,पलाँता गाउँपालिका, नरहरीनाथ गाउँपालिका,महावै गाउँपालिका र तिलागुफा नगरपालिकामा फागुन १३ देखि १५ गतेसम्म खोप अभियान सुरु गर्ने कार्यालयका जनस्वास्थ्य अधिकृत कटक महतले बताए । यस्तै, रास्कोट नगरपालिका,सान्नीत्रिवेणी गाउँपालिका, पचालझरना गाउँपालिका र शुभकालिका गाउँपालिकामा फागुन १७ गतेदेखि १९ गतेसम्म खोप सञ्चालन गरिने छ ।

यस अघि जिल्लामा सञ्चालन गरिएको टाईफाईडविरुद्धको खोप ४९ हजार ९०६ जनाले लगाएका थिए । यो कालिकोटको जम्मा खोप पाउने लक्षित जनसङ्ख्याको ८७ प्रतिशत हो ।