१ जेष्ठ २०८१, मंगलवार

गाउँ रित्तिए, शहर भरिए


कालीकोट । भौतिक सुःख, सुविधा खोज्दै सर्वसाधारण शहर झरेपछि नरहरिनाथ गाउँपालिकामा गाउँ रित्तिँदै गएका छन् । आर्थिक, सामाजिक, राजनीतिक रुपमा सबल र सचेत भएर पनि पछिल्लो समय चरम बसाइँ सराइका गाउँ रित्तिन थालेको हो ।

कालिकोट जिल्ला नरहरिनाथ गाउँपालिका साविकको कुमालगाउँ, कोटवाडा, रूप्सा, माल्कोट र लालु गाउँ विकास समिति मिलाएर नरहरिनाथ गाउँपालिका बनेको हो । नरहरिनाथ गाउँपालिकाको कूल क्षेत्रफल १४३.८६ वर्गकिलोमिटर रहेको छ । यस गाउँपालिकामा ९ वडा रहेका छन् र राष्ट्रिय जनगणना २०७८ का अनुसार यहाँको कूल जनसङ्ख्या २१,३६६ रहेको छ ।

अहिले शहरी सेवा सुबिधा भोग गर्न भन्दै गाउँलेहरु बजार झर्दा गाउँ नै खालि हुन थालेको स्थानीय रामबहादुर शाहीले बताए । ‘अधिकांश घरमा ताल्चा लागेको छन ।’ उनले भने,‘पहिला पहिला करिब सबै घरहरु भरिभराउँ हुने नरहरिनाथ गाउँपालिकाका हरेक वडामा अहिले ३०÷४० घरहरु ताला लागिरहेका छन भने बाँकि घरमा पनि एक दुई जना घर कुर्ने मात्रै मान्छेहरु बसिरहेको देखिन्छ ।’

गाउँघरमै स्थानीय सरकार छ । सुबिधा पनि आवश्यक मात्रानै छन् । तैपनि स्थानीय बासिन्दा बसाइँ सरिरहेकै छन् । नरहरिनाथका सबै वडाहरु खालि हुँदै गएका छन् । स्थानिय सरकार बनेको सात बर्ष भइसकेको छ ।

सरकारले युवाहरुलाई बर्सेनि विभिन्न आय–आर्जनमा सहयोग पुग्ने लक्ष्यले सिपमुलक तालिमहरु सञ्चालन गर्दै आइरहेको छ । युवाहरुले सिकको सिपलाई जिवनउपयोगी बनाउन नसक्नु पनि कमजोरी हो । नरहरिनाथ गाउँपालिकामा शिक्षा, स्वास्थ्यलगाएत सुविधासँगै जीविकोपार्जनका लागि उपयुक्त वातावरण पनि छ । तर, मानिसहरु सुबिधा भोगी हुँदा शहर झर्न र विदेश जान अझै तम्सेका छन् ।

गाउँमा आधारभूत सुविधा पुगेर विकासका पूर्वाधार निर्माण भए भने बसाइँसराइ रोकिएन । गाउँमा सडक पुगेपछि त्यही बाटो मोटर चढेर गाउँले शहर झर्ने र देशविदेश पुग्ने गरिरहेका छन् गाउँमा पूर्वाधार विकासभन्दा पनि युवाले प्रशस्त रोजगारीको अवसर खोजिरहेका छन् ।

पढ्ने बहानामा स्टुडेन्ट भिसामा होस् वा रोजगारीका लागि होस्, हरेक दिन नेपाली युवाहरू बिदेसिने र उतै पलाईन हुने क्रम बढ्दो छ । यो प्रवृत्तिले मुलुकलाई दीर्घकालीन असर पार्ने देखिन्छ । अध्ययनका लागि बिदेसिएका युवा पनि उता गएपछि पढाइ कम काम बढी गर्छन् अनि अन्ततः उतैको नागरिकता ग्रहण गरेर नेपाल फर्कंदैनन् ।

जे–जस्ता कारणले युवाहरू बिदेसिए पनि नेपालमा भएका स्रोत–साधन एवं उत्पादनलाई बजारीकरण गर्न सके युवाहरूले स्वदेशमै रोजगारी पाउने देखिन्छ । सरकारले युवालाई तिमीहरू आँट हामी पुर्‍याउँछौं भन्ने नीति ल्याओस्, त्यति हुन सक्यो भने युवाहरू खुसीसाथ स्वदेशमै बस्छन् ।