५ मंसिर २०८१, बुधबार

नयाँ वर्षको शुभकामना


आजबाट नयाँ वर्ष २०८१ साल शुरु भएको छ । भित्तामा क्यालेन्डर फेरियो । नयाँ वर्षलाई त्यसै पनि हामी धेरै महत्त्व दिन्छौं । खुसी र उमङ्ग यसै जोडिएर आउँछ नयाँ वर्षसँग । नयाँ वर्ष– शुभकामनाको ओइरो लाग्छ । नयाँ वर्षको शुभकामना दिन व्यक्तिगत भेटघाट नै गर्नु पर्ने कि शुभकामना कार्ड छापेर बाँड्नु पर्ने युग थियो कुनै बेला ।

प्रविधि बदलावले गर्दा अब त्यो युग बाँकी रहेन । आज सञ्चारमाध्यम छन् । मोबाइल छ । टाइरेक्ट कलदेखि म्यासेजसम्म अनेक अप्सन छन् । अझ सशक्त छ– सामाजिक सञ्जाल । सामाजिक सञ्जालमा शुभकामनाका ओइरो लाग्ने छ, लागेको छ ।

अरु सम्वत्‌को भन्दा यसकारण दुर्लभ छ हाम्रो नयाँ वर्ष कि वसन्तु ऋतुमा आउँछ । वसन्त ऋतुको आफ्नै महिमा छ । संसारभरिको बसन्त हाम्रो जस्तै हुन्छ भन्न सकिँदैन । तर, हाम्रो वसन्त ऋतुका कयौं खास विशेषता छन् ।

जाडो तुरिएको हुन्छ, तर गर्मी चर्को भइसकेको हुँदैन । बोट विरुवामा नयाँ पालुवा पलाउँछन् । कयौं फूलहरू फक्रिएर हाँस्छन् यो ऋतुमा । ठूला चाडपर्वको घञ्चमञ्च हुँदैन । अतिरिक्त खर्चका अन्य पाटाहरू यतिखेर कमै आउँछन् र नयाँ वर्षको उल्लासमा आर्थिक सहजता थपिदिन्छन् ।
हामी नेपालीले बढो गज्जबको एक मानक बनाएका छौं विश्वमा गरिबी, बेथिति, भ्रष्टाचार, कुशासन, बेरोजगारी र अल्पआयस्तरमा बाँचेर पनि हामी खुसी हुन सक्दछौं । खुसी हुन सक्ने हाम्रो स्वभाव, हाम्रो तकात बढो विचित्रको छ ।

हाम्रो खुसीको एउटा आधार त वसन्तको उल्लासमय वातावरणमा आउने नयाँ वर्ष पनि होला । यस अवसरमा बाँडिने असीमित शुभकामना पनि होला । नयाँ वर्षमा हामी शुभकामना मात्र बाँड्दैनौं । केही सपना देख्छौं । केही समीक्षा गर्छौँ । केही योजना बनाउँछौं । केही सङ्कल्प गर्छौं ।

यति धेरै कि सपना देख्ने बाँकी ठाउँ नै सीमित हुने गरी सपना देख्यौं । सपना बाँड्यौं । सपना बेच्यौं ।

नयाँ वर्षका शुभकामना र सपनाभन्दा हाम्रो यथार्थ फरक छ । तर, कसैलाई विश्वास छैन कि नयाँ वर्षमा यो क्रम तोडिने छ । शुभकामनामा हामी यो क्रम तोड्न चाहन्छौं । हामीले बुनेको सपनामा हामी यो क्रम तोड्न चाहन्छौं । तर, के यथार्थमा यो क्रम तोडिन्छ, जो दशकौंदेखि एक दुश्चक्रभित्र अभिशप्तजस्तो बाँचेको छ यहाँ ।

सबैको स्वाभिमान र सबैको समृद्धिको वर्ष बनोस् । नयाँ वर्ष २०८१ को हार्दिक तथा मङ्गलमय शुभकामना ।