३ कार्तिक २०८१, शनिबार

सरकारले प्रधानमन्त्री छोरी आत्मनिर्भर कार्यक्रम सञ्चालन गर्ने


सुर्खेत । सरकारले प्रधानमन्त्री छोरी आत्मनिर्भर कार्यक्रम सञ्चालन गर्ने भएको छ । मंगलबार संघीय संसदको दुवै सदनको संयुक्त बैठकमा सरकारका तर्फबाट आर्थिक वर्ष २०८१/८२ को नीति तथा कार्यक्रम प्रस्तुत गर्दै राष्ट्रपति रामचन्द्र पौडेलले प्रधानमन्त्री छोरी आत्मनिर्भर कार्यक्रम सञ्चालन गरिने बताएका हुन् ।

‘मानव विकास सूचकांकमा पछाडि परेका जिल्लामा वडाकेन्द्रित विशेष महिला तथा सामाजिक विकास कार्यक्रम सञ्चालन गरिनेछ,’ राष्ट्रपति पौडेलले भने, ‘महिलालाई आर्थिक रूपमा सबल र सक्षम बनाउन प्रधानमन्त्री छोरी आत्मनिर्भर कार्यक्रम सञ्चालन गरिनेछ ।’

राष्ट्रपति पौडेलले बालबालिकामाथिको दुर्व्यवहार, महिला हिंसा, मानव बेचविखन तथा बलात्कार, छुवाछूत, लागुपदार्थ दुर्व्यसनी, दाइजो, छाउपडीजस्ता सामाजिक विकृति र शोषण अन्त्य गरिने बताए । बोक्सी, दाइजो प्रथालगायत कूरीति अन्त्य गर्ने पनि सरकारको नीति तथा कार्यक्रममा उल्लेख छ ।

राष्ट्रपति पौडेलले महिलाहरूमाथि हुने बलात्कारलगायतका जघन्य अपराध नियन्त्रणका लागि पनि सामाजिक जागरण अभियानलाई निरन्तरता दिने बताए ।