३ कार्तिक २०८१, शनिबार

यार्चागुम्बा टिप्न गएका पाँच जनाको मृत्यु


सुर्खेत । बहुमुल्य जडिबुटी टिप्न पाटनका उक्लेका लेक लागेर पाँच जनाको मृत्यु भएको छ । मुगु जिल्लाको मुगुम कार्मारोङ गाउँपालिकाको पाटन क्षेत्रमा यार्चागुम्बा टिप्न गएका पाँच जनाको लेक लागेर मृत्यू भएको हो ।

मृत्यु हुनेमा मुगु जिल्ला छायाँनाथ रारा नगरपालिका–१२ सोभा गाउँका २९ वर्षीय मुनबहादुर बुढा, वडा नंं १२ कम्फा गाउँका २१ वर्षीय सोबान बुढा, सोही वडाका २४ वर्षीय राजबहादुर सावत र वडा नं. १० का २० वर्षीय देवराज बुढाको यार्चा टिप्ने क्रममा लेक लागेर ज्यान गएको मुगु छायाँनाथ रारा नगरपालिकाका प्रमुख विष्णुबहादुर भामले बताए ।

यसअघि जुम्ला पातारासी गाउँपालिका–३ का अन्दाजी २६ वर्षीय सुर्ज रावतको मृत्यु भएको मुगुम कार्मारोङ गाउँपालिकाका जनस्वास्थ्य निरीक्षक बलीराज बुढाले बताए । ‘पाटनमा यार्चागुम्बा टिप्न जाँदा लेक लागेर सिकिस्त बिरामी भई उपचारको निम्ति मुगु स्वास्थ्य चौकी, सिरानचौर र चितैकुना उपचार केन्द्रमा ल्याइएका पाँच सय २६ जना बिरामीलाई औषधि उपचार गरिएको छ ।’ उनले भने,‘उपचारपछि कोही पाटनतर्फ कोही घरतिर पठाइएको छ ।’

लेक लागेर बिरामी भएका पाँच सय २६ जनामध्ये दुई सय २३ महिला र तिन सय तिन पुरुष रहेको जनस्वास्थ्य निरिक्षक बुढाका बताए ।