३ कार्तिक २०८१, शनिबार

वीरेन्द्रनगर नगरपालिकाका लेखा अधिकृत क्षेत्रीको हृदयाघातका कारण निधन


 

सुर्खेत । सुर्खेतको वीरेन्द्रनगर नगरपालिकाका लेखा अधिकृत हरि क्षेत्रीको हृदयाघातबाट निधन भएको छ ।

वीरेन्द्रनगर नगरपालिकाका निमित्त प्रमुख प्रशासकीय अधिकृतसमेत रहेका ५२ वर्षीय क्षेत्रीको मंगलबार बिहान हृदयाघातका कारण निधन भएको कर्णाली प्रदेश अस्पताल सुर्खेतका सूचना अधिकारी विनोद बस्नेतले जानकारी दिए । हृदयाघातले अक्सिजनको लेभलमा सुधार नभएपछि क्षेत्रीको निधन भएको हो ।

क्षेत्रीले हृदयाघात हुनुपूर्व सुर्खेतको प्रमुख पर्यटकीय स्थल बुलबुले तालमा मोटरबोट उद्घाटन समारोहमा उद्घोषकको भूमिका निर्वाह गरेका थिए । कर्णाली प्रदेश सरकारका मुख्यमन्त्री यामलाल कँडेल सहभागी कार्यक्रम समापनपश्चात क्षेत्री एक्कासि बेहोस भएर ढलेका थिए । उनलाई तत्काल उपचारको लागि कर्णाली प्रदेश अस्पताल लगिए पनि उपचारकै क्रममा निधन भएको हो ।

कर्मचारी समायोजन पछि स्थानीय तह रोजेको क्षेत्री १५ साउन २०७४ बाट वीरेन्द्रनगर नगरपालिकामा लेखा अधिकृतको जिम्मेवारी सम्हाल्दै आएका थिए । क्षेत्रीका एक छोरा र दुई छोरी छन् । हाल उनी वीरेन्द्रनगर–७ मा बस्दै आएका छन् ।