३ कार्तिक २०८१, शनिबार

गर्मी बढेपछि सल्यानका दुई पालिकाले गरे विद्यालय बन्द


सुर्खेत । गर्मी अत्याधिक बढेपछि सल्यानमा दुई पालिकाले विद्यालय बन्द गरेका छन् । त्रिवेणी गाउँपालिका र शारदा नगरपालिकाले सूचना प्रकाशन गरेर शुक्रबारदेखि विद्यालय बन्द गरेका हुन् ।

त्रिवेणी गाउँपालिकाले बर्खे बिदाबाट कटौती हुने गरी एक साताका लागि र शारदा नगरपालिकाले तीन दिनका लागि पालिकाभरका विद्यालय बन्द गरेका छन् । त्रिवेणी गाउँपालिकामा ३४ विद्यालयमा ५ हजार र शारदा नगरपालिकाका ६८ विद्यालयमा ११ हजार विद्यार्थी अध्ययनरत रहेका छन् ।

गर्मीले विद्यार्थी बेहोस हुने, झाडापखाला, टाउको दुख्नेलगायतका समस्या देखिएपछि विद्यालय बन्द गरिएको त्रिवेणी गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत खुमबहादुर केसीले बताए ।

विद्यार्थी बिरामी भएको र पठनपाठन नै प्रभावित भएपछि विद्यालय बन्द गरिएको शारदा नगरपालिकाकी शिक्षा शाखा प्रमुख संगीता भण्डारीले बताइन् ।