३ कार्तिक २०८१, शनिबार

बलिदान नगरी कर्णालीले केही पाउदैन –मुख्यमन्त्री कँडेल


सुर्खेत । कर्णाली प्रदेशका मुख्यमन्त्री यमलाल कँडेलले कर्णालीले बलिदानी नगरेर केही नपाउने गरेको बताएका छन् । सुर्खेतमा आयोजित उद्यमशीलता प्रेरणा सम्मेलनको उद्घाटन गर्दै मुख्यमन्त्री कँडेलले कर्णाली प्रदेश प्राप्त गर्दा पनि नागरिकहरुले रगत बगाएर पछि प्राप्त गरेको भन्दै बलिदान नगरी कर्णालीले केही नपाउने गरेको बताएका हुन् ।
संबिधान अनुसार राज्यले कर्णालीलाई सेवा, सुविधा र अन्य कुराहरु सहज रुपमा पाउन पनि आन्दोलन गर्नुपर्ने बाध्यता रहेको कँडेलले बताए । ‘हामीले अधिकार र सेवा प्राप्त गर्नका लागि पनि जनताले रगत बगाउनुपर्छ । परापुर्वकालमा समुद्ध रहेको कर्णाली पछिल्लो समय सेवा सुविधा र विकासका पुर्वाधारका हिसावले निकै पछाडी छ ।’ उनले भने,‘प्राकृतिक श्रोत साधनहरुको खानी रहेको कर्णाली त्यसको सदुपयोग हुन सकिरहेको छैन् । हामीले त्यसैलाई सदुपयोग गर्ने गरी कामहरु अगाडी बढाईरहेका छौँ ।’
कर्णाली खाली पेपर जस्तै रहेको मुख्यमन्त्री कँडेलले बताए । ‘कर्णाली खाली कागज हो । यहाँ प्रकृतिले नै रंगाईदिएको छ । तर हामीले आकर्षक चित्र बनाउन सकिरहेका छैनौँ ।’ उनले भने,‘कर्णालीका १० वटै जिल्ला उद्योग, व्यपार, कृषि पर्यटन, जलबिद्युत, जडिबुटी लगायतका नविनतम श्राृत र साधानहरुको भण्डार हुन् । तर बिदेशी भुमीमा जुनसुकै कर्म गर्न चाहाने आफ्नो भुमीमा काम गर्दा सानो भईने जस्ता सामाजिक सोच र संरचनाका कारण हामी पछाडी परिरहेका छौँ ।’
अब युवाहरुले काम गर्दा सानो हाईन्, महान बनिन्छ भन्ने सन्देश दिनुपर्ने कँडेलले भनाई थियो ।
मुख्यमन्त्री कँडेलले कर्णालीमा उद्यम गर्ने युवाहरुका लागि सरकारले उचित लगानीको वातावरण बनाउने बताए । ‘यहाँ कार्यक्रमका लागि बजेट भन्दा पनि बजेटका लागि कार्यक्रम बनाउने प्रचलन बढी छ । त्यसलाई निरुत्साहित गरी कार्यक्रमका लागि बजेटको व्यवस्थापन गर्ने गरी तयारी सरकारले गरिरहेको छ ।’ उनले भने,‘कर्णालीमा लगानीकर्ताहरुले बिभिन्न आयोजनाहरु होल्ड गर्ने परिपाटी पनि व्यापक छ । तर कागजमा मात्र नभई फिल्डमै काम गर्न आउने लगानी कर्ता र उद्यमीहरुका लागि सरकारले पनि थप सहयोग गर्नेछ ।’
राष्ट्र निर्माण मञ्च नेपाल र उद्यमशील युवा, सिर्जनशील युवा राष्ट्रिय अभियानको सयुक्त आयोजनामा कर्णाली प्रदेशको राजधानी सुर्खेतको वीरेन्द्रनगरमा आयोजित उद्यमशीलता प्रेरणा सम्मेलन बुधबार भएको हो ।
कर्णालीका युवा उद्यमी तथा उद्यम गर्न चाहाने युवाहरुका लागि उद्यमशीलता प्रेरणा दिनका लागि आयोजित सम्मेलनमा कर्णाली प्रदेशका १० वटै जिल्लाका १८ बर्षदेखी ४० बर्षमुनिका युवा उद्यमीहरुको उपस्थिति रहेको राष्ट्र निर्माण मञ्च नेपाल र उद्यमशील युवा, सिर्जनशील युवा राष्ट्रिय अभियान संयोजक भूपेन्द्रजंग शाहीले बताए । कार्यक्रममा उद्यमशीलता विकास, सम्भावना, उद्यम गर्नका लागि बैक तथा बित्तिय संस्थाहरुबाट लिन सकिने सेवा सुविधाहरु लगायतका बिषयमा जानकारी दिनुका साथै उद्यमशीतला सम्बन्धि सफलताका अनुभवहरु आदान प्रदान गरिएको थियो ।