३ कार्तिक २०८१, शनिबार

कालिकोटमा १ अर्ब १० करोड बढी बजेट फ्रिज


कालिकोट । बजेट अभावमा विकास हुन नसकेको गुनासो आउने गरेको कोलिकोटमा यस वर्ष समयमै काम हुन नसक्दा १ अर्ब १० करोड बढी रकम फ्रिज भएको छ । असार २५ गतेको समय सीमामा खर्च गर्ने गरी अख्तियारी आएको १ अर्ब १० करोड ९९ लाख १९ हजार ६९९ रुपैयाँ फ्रिज गएको हो ।
संघ र प्रदेश सरकारबाट कोलिकोट आएको बजेट समयमा खर्च गर्न नसक्दा फ्रिज भएको कोष तथा लेखा नियन्त्रण कार्यालयले जनाएको छ ।

संघीय सरकारबाट आर्थिक वर्ष ०८०र०८१ लागि ४ अर्ब ७८ करोड ६ लाख २० हजार ९७२ रुपैयाँ प्राप्त भएकामा ६० करोड १२ लाख ३३ हजार फ्रिज भएको छ । कोष तथा लेखा नियन्त्रक कार्यालय कोलिकोटका प्रमुख विकास थापामगरले यो बजेटमा सबै स्थानीय तह र संघ अन्तगर्तका कार्यालयबाट खर्च हुन नसकेर ६० करोड १२ लाख ३३ हजार ५ सय ५२ रुपियाँ ५५ पैसा बजेट फ्रिज भएको बताए । उनले सबै स्थानीय तह र जिल्लास्थित संघीय कार्यालयमा प्राप्त बजेटमध्ये खर्च हुन नसकेको बजेट फिर्ता गएको जानकारी दिए ।

प्रदेश सरकारबाट कोलिकोटलाई आर्थिक वर्ष ०८०/०८१ लागि २ अर्ब ८ करोड ४१ लाख ११ हजार ४ सय रुपैयाँ प्राप्त भएकामा १ अर्ब ५७ करोड ५४ लाख २५ हजार २५३ रुपैयाँ ७९ पैसा मात्र खर्च भएर ५० करोड ८६ लाख ६ हजार १ सय ४७ रुपैयाँ फ्रिज भएको प्रदेश कोष तथा लेखा नियन्त्रण कार्यालय कोलिकोटका प्रमुख रामदत्त देवकोटाले बताए । उनले चालुतर्फको ७९ दशमलव ३ प्रतिशत र पुँजीगततर्फ ७३ दशमलव ८१ प्रतिशत गरी दुवैतर्फको ७५.५८ प्रतिशत बजेट खर्च भएको जानकारी दिए ।

यहाँका ९ स्थानीय तहमध्ये शुभकालिका बाहेक ८ वटा स्थानीय तहले खर्च गर्न नसकेर १२ करोड ७१ लाख ३४ हजार ९ सय २१ रुपैयाँ फ्रिज भएको छ । कोष तथा लेखा नियन्त्रण कार्यालय कोलिकोटका सहायक लेखापाल रमेश बस्नेतका अनुसार सबैभन्दा धेरै बजेट नरहरिनाथ गाउँपालिकाको फ्रिज भएको छ भने कम सान्नीत्रिवेणी गाउँपालिकाको छ । यहाँको शुभकालिका गाउँपालिकाले साउन १५ सम्म पनि बजेट खर्चको विवरण दिन सकेको छैन ।

नरहरिनाथ गाउँपालिकाको २ करोड ९२ लाख १७ हजार १ सय १२ रुपैयाँ फ्रिज भएको छ भने सान्नीत्रिवेणीको ५४ लाख १० हजार ९ सय ३५ फ्रिज भएको छ । दोस्रो धेरै बजेट फ्रिज गर्नेमा पलाँता गाउँपालिका छ । पलाँताको २ करोड ३३ लाख ९१ हजार ९ सय ४१, तिलागुफा नगरपालिकाको २ करोड १ लाख ५ हजार ९ सय ६० रुपैयाँ फ्रिज भएको छ ।

त्यस्तै, रास्कोट नगरपालिकाले १ करोड ४४ लाख, ५७ हजार ७६०, खाँडाचक्र नगरपालिकाको १ करोड ६७ लाख ५४ हजार ९१, महावै गाउँपालिकाको १ करोड १२ लाख ४७ हजार १ सय १४, पचालझरना गाउँपालिकाको ६५ लाख ५० हजार ८ रुपैयाँ फ्रिज भएको छ ।