जागरणले जाग्यो त कांग्रेस ?


नेपाली कांग्रेसले वैशाख २५ गतेदेखि पार्टीमा उत्साह पैदा गर्ने र कार्यकर्तालाई सक्रिय तुल्याउनुका साथै समसामयिक राजनीतिको जानकारी दिने उद्देश्यले जनजागरण अभियान चलाइरहेको छ। जिल्लास्तरबाट आरम्भ गरिएको अभियान कतिपय स्थानमा क्षेत्रमा पुगिसकेको छ भने कतिपय ठाउँमा गाउँस्तरीय भेला सम्पन्न भइसकेका छन् । शिथिल भएर बसेका कार्यकर्ता कांग्रेसका नाममा जुट्न थालेका छन्। कार्यक्रमविहीन भएर बसेको पार्टी र कांग्रेसी कार्यकर्ताहरू जुर्मुराउन थालेका छन्। थोरै मात्रामा भए पनि पार्टीमा रक्तसञ्चार भएको अनुभव सर्वत्र गर्न थालिएको छ।
बैठकबाटै एजेन्डा तय हुने हो। कार्यक्रमहरूले नै पार्टीमा उत्साह पैदा गर्ने हो। जमघटहरूबाट नै नयाँनयाँ प्रक्रिया र मार्ग पहिल्याउन सम्भव हुन्छ। कार्यकर्तालाई कुनै न कुनै काम दिन सकेमात्र लक्ष्य प्राप्तिको मार्गमा पार्टी अग्रसर हुन सक्छ। गिरिजाप्रसाद कोइराला विभिन्न कार्यक्रममा कार्यकर्तालाई भन्ने गर्नुहुन्थ्यो, ‘काम पाउनु भएन भने कुनै घरको सिसामा ढुंगा हान्नुस्। त्यसले विवाद सिर्जना गर्छ। विवादले तपाईंमा सक्रियता ल्याउँछ।’
प्रधानमन्त्री भइसकेको मान्छे, पार्टी सभापति जस्तो शिखर व्यक्तित्वले कार्यकर्तालाई के सिकाएको होला ? यस्तो ध्वंसात्मक प्रवृत्तिमा कार्यकर्ता प्रवृत्त भए भने पार्टी कस्तो होला ? विद्यार्थी जीवनमा हामीलाई लाग्थ्यो। उहाँ भन्ने गर्नुहुन्थ्यो, ‘निष्क्रिय बस्नु भनेको मरेतुल्य हो। निष्क्रिय कार्यकर्ता रहेको पार्टी मरेतुल्य हुन्छ। त्यसैले सकेसम्म राम्रो काम नै गर्नुस्, नभए नराम्रै भए पनि गर्नुस्।’ नराम्रो कामतिर होम्ने उहाँको उद्देश्य थिएन, कार्यकर्तालाई चलायमान गराउने आसय थियो।
केही वर्षअघिदेखि निष्क्रिय बसेका कांग्रेसमा जनजागरणले सक्रियता उत्पन्न गराएको देखिएको छ तर कार्यक्रम गर्ने शैली र वक्ताका मन्तव्यबाट भने अपेक्षाकृत सफलता हासिल गर्न त्यति सहज नहुने देखिन्छ। केन्द्रीय समितिले चारजना वक्ता रहने निर्देशन पठाएको छ। कार्यक्रमका सभापति, स्वागत भाषण गर्ने एक जना, कार्यक्रमबारे जानकारी दिने एक जना र महिला वक्ता एक जनाले मन्तव्य राख्न पाउने व्यवस्था गरिएको छ। यसमा थप एक जना प्रमुख अतिथि त भई हाले।
आसन ग्रहणलाई पनि एकमुष्ट बनाइएको छ। जस्तो कि पूर्व सभापतिहरू चारपाँच जना छन् भने कसैको नाम नलिई एकैपटक पूर्वसभापतिहरू भनेर आसन ग्रहण गराइन्छ। यस प्रकृतिको कार्यक्रमबाट चालीस पचास जनालाई आसन ग्रहण गराउँदा व्यर्थमा खर्च हुने समयको बचत हुन गएको छ। मन्तव्य थोरैको हुँदा पनि कार्यकर्ताले हाई काढीकाढी लामो समय भाषण सुनेर बस्नु नपर्ने भएको छ। कार्यक्रममा सभापति बनेर बसेको व्यक्तिले पनि आलोचनाको स्वरहरू सुन्न परेको छैन। कांग्रेसको कमजोरीबारे वा गालीगलौजका भाषा मञ्चबाट घन्किने गरेको छैन।
फाइदाका साथसाथै बेफाइदासमेत उत्तिकै छ, यसरी कार्यक्रम गर्दा। यस सन्दर्भमा वरिष्ठ गीतकार कालीप्रसाद रिजालले लेखेको भारतमा एउटा व्यंग्य कार्यक्रम हुँदाको प्रसङ्ग उल्लेखनीय छ। भारतमा एकपटक राजनारायण नामका मन्त्री थिए, उनलाई हास्यकवि सम्मेलनमा प्रमुख अतिथिका रुपमा निम्त्याइएको थियो। उनको बोलीचाली र रङ्गढङ्ग विचित्र किसिमको थियो। एकजना कविले उनैको चरित्र उतारेर कविता ल्याएका रहेछन्। जसका बारेमा कविता छ, उही प्रमुख अतिथिको आसनमा देखेपछि कविलाई अप्ठेरो परेछ। यो कुरा मन्त्रीलाई सुनाएपछि निश्चिन्त भएर कविता सुनाउन भनेछन्। कवितामा निकै ताली बज्यो। मन्त्री स्वयंले समेत ताली बजाए।
पछि सम्बोधन गर्दा मन्त्रीले कविताको प्रशंसा गरे। उनले भने, सत्तामा बस्ने हामी राजनीतिकर्मीहरू सधँै कार्यकर्ता र स्वार्थी चाटुकारबाट घेरिएका हुन्छौँ। जनमानसको धारणा र सही प्रतिक्रिया बिरलै सुन्न पाइन्छ। कवि, साहित्यकारहरूले नै हामीलाई सही कुरा बताउने हो। हाम्रा त्रुटिहरू निःशुल्क रुपमा उपलब्ध गराएर तपाईंहरूले ठूलो गुन लगाउनुभएको छ। म कविज्यूप्रति हार्दिक आभार प्रकट गर्दछु र भविष्यमा यसबाट सही शिक्षा लिने प्रयत्न गर्नेछु।’
कांग्रेसको अहिलेका प्रकृतिको कार्यक्रममा ती मन्त्रीले भने जस्तो सही मार्ग बताउन सक्ने वक्ताले बोल्न पाएको छैन। प्रमुख अतिथिले सदाझैं उपदेशात्मक भाषण दिने, कार्यक्रमका सभापतिबिना कुनै तयारी आएर अनुभवका आधारमा जेजति ज्ञान छ त्यही बोल्ने, स्वागत गर्नेेले स्वागत भन्ने शिवाय अरू केही हुन सकेको छैन। पार्टीमा क्रियाशीलता जागेको छ, तर भविष्यबारे चर्चा हुने अवसर प्राप्त हुन सकेको छैन।
प्रमुख अतिथि भएर गएकाहरूले पनि मन्तव्य आआफ्नै पाराले दिने गरेका छन्। वर्तमान सरकारले देश डुबाइसकेको विभिन्न तथ्यहरूले प्रमाणित गर्दै गएका छन्। अधिनायकवादको मार्गमा सरकार पूर्ण रूपेण अग्रसर छ। मिडिया काउन्सिल विधेयक, मानव अधिकार आयोग विधेयक सरकारी नियन्त्रण हुने गरी बनाइँदैछ। देशमा भएका हिंसाका घटनाले जनमानसमा त्रास सिर्जना गरेको छ। अर्थतन्त्र पूरै तहसनहस भइसक्यो। महँगीले जनतालाई आधा पेट खाएर बाँच्नुपर्ने अवस्थामा पुर्याएको छ। यस्ता सयौँ उदाहरण छन् तर कार्यक्रममा बोल्ने वक्ताको तयारी पुगे जस्तो देखिँदैन, परम्परागत भाषणमा सीमित छन्। त्यसैले कार्यक्रमका वक्ताहरूलाई समेत प्रशिक्षण आवश्यक छ।
कतिपय नेताहरूले यो जनजागरण अभियान पार्टी सभापतिको महाधिवेशन पर सार्ने षड्यन्त्रलाई सघाउ पुर्याउन ल्याइएको हो भन्ने अभिव्यक्तिसम्म सुन्नमा आयो। केहीले यो जनजागरण कार्यक्रमको कुनै अर्थ छैन भनेर सभामा बोलेकै छन् भन्ने पनि सुनियो। यो अभियान व्यर्थको भए केन्द्रमै विरोध जनाउनुपथ्र्यो। सभामा उत्साह बोकेर आएका सामु यसरी बोल्न हुँदैनथ्यो भन्ने धारणा पनि आए। व्यर्थकै भए किन प्रतिनिधि बनेर आएको त भन्नेहरू पनि भेटिए तर पीठ पछाडि। नेतालाई अगाडि नै भन्नेहरू देखिएनन्।
सभापति देउवाको मनभित्र त्यस्तो प्रपञ्च रचिएको भए दुर्भाग्य हो अन्यथा सुतेर बसेका कांग्रेसीहरूलाई ब्युँझाएको छ यो कार्यक्रमले। मात्र यत्ति हो कि सांसद्हरूका बीचमा बोल्ने कुरा, केन्द्रीय सदस्यहरूका बीचमा राखिने धारणा, शुभचिन्तकका बीचमा पोखिने विचार र पार्टीका आमसदस्यका बीचमा गर्ने भाषणमा भिन्नता हुनुपर्दछ, त्यो हुन सकेको पाइँदैन। कांग्रेसले यसमा विचारविमर्श गर्छ कि !
गाउँमा बसेर सङ्गठन बढाउन क्रियाशील कार्यकर्तासँग पार्टी हार्नुका कारणबारे केन्द्रमा बसेर राजनीति गरेका सभापतिसँग भन्दा बढी जानकारी हुन सक्छ। पार्टी सभापति वा वरिष्ठ नेताको आसपासमा रहेर केन्द्रीय सदस्य बनेकाहरूले प्रमुख अतिथि भएर दिएको निर्देशनभन्दा बढी कार्ययोजना र पार्टी सुदृढीकरणका उपायहरू जिल्ला तहको राजनीतिमा सक्रिय कार्यकर्तालाई हुन सक्छ। हक्की कार्यकर्ता छ भने केन्द्रीय नेताहरूले गरेका गल्ती औँल्याउँदै भविष्यमा नदोहोर्याउन सचेत गराउन पनि सक्छ। समग्रमा भन्दा नेपाली कांग्रेसलाई आगामी निर्वाचनमा बहुमतसहितको सबैभन्दा ठूलो दल बनाउने रणनीति केन्द्रको मुख नदेखेका कार्यकर्ताले तयार गर्न पनि सक्छन्।
तसर्थ, पहिलो चरणको जनजागरणको अभियान सम्पन्न भएपछि अन्तक्र्रियात्मक कार्यक्रमहरूको आयोजना गरी गाउँगाउँसम्म जान सके फलदायी हुने देखिन्छ। अन्तक्र्रियामा आएका सकारात्मक कुरा मनन गरी विरोधका आवाजलाई ती मन्त्रीले झैँ धन्यवाद दिएर सच्चिने अवसरका रुपमा नेताहरू तथा नेतृत्वले लिने बानीको विकास गरेमा कांग्रेसलाई सबल हुन कसैले छेक्न सक्दैन। गाउँमा विपक्षीको सामना गरेर बसेको कार्यकर्तालाई मन फुकाएर बोल्न दिने र उसमा उत्साह थप्ने काम केन्द्रीय प्रतिनिधिको हुनुपर्छ। कतिपय प्रतिनिधिले यस प्रकारको कार्यक्रम चलाएको पनि देखिएको छ तर अधिकांश भाषणमै सीमित हुन पुगेका छन्।
चुनाव आउन चार वर्ष बाँकी छ। संगठन गर्न चाहने हो भने चार वर्ष पर्याप्त समय हो। कार्यकर्तादेखि जनतासम्म पुग्ने कार्ययोजना तयार गर्नुपर्दछ। कार्यकर्ताहरूसँगको अन्तक्र्रियापछि जनतासँगको अन्तक्र्रिया व्यापक रुपमा सञ्चालन गरिनुपर्छ। केन्द्रीय नेताहरूलाई अहिले जसरी एक महिनाका लागि खटाइएको छ, स्थान परिवर्तन गर्दै निरन्तर गाउँगाउँमा बस्ने अभियानै चलाउन सके कांग्रेसले धेरै प्रगति गर्न सक्छ।
नेपालका प्रथम राष्ट्रपति रामवरण यादवले एक कार्यक्रममा भनेका थिए, ‘कांग्रेसका नेताहरूको अहिले जनतासँगको सम्बन्ध टुटेको छ। पहिलेपहिले नेताहरू गाउँमा गएर कार्यकर्ताका घरमा बस्थे, जे पाक्यो त्यही खान्थे। राति जनतासँग छलफल गर्थे। अहिले नेताहरू जिल्ला जाँदा पनि तारे होटेलको बास खोज्छन्, रङरमाइलोमा भुल्छन्, जनताबाट टाढा रहन्छन्। यसरी संगठन हुँदैन।’ कांग्रेसका पूर्वनेताको यो भनाइलाई पनि जनजागरण अभियानअन्तर्गत गाउँगाउँ पुगका नेताहरूले मनन गर्ने कि !
कर्णालीपाटी । ४ असार २०७६, बुधबार १३:३३