२१ बैशाख २०८१, शुक्रबार

दुई महिनामै उप्कियो कालोपत्रे


सल्यान । प्रदेश राजधानी जोड्ने खलंगा–कुपिन्डे–बालुवासंग्रही सडक कालोपत्रे गरेको दुई महिना नपुग्दै भत्किएको छ । राष्ट्रिय ग्रामीण यातायात शुदृढीकरण कार्यक्रमअन्तर्गत निर्माण गरिएको सडकको कालोपत्रे पानीले नै बगाएको हो । वर्षातको समयमा कालोपत्रे गरिएकाले पानीले कालोपत्रे बगाएको स्थानीयको भनाइ छ । बन्गाड कुपिन्डे नगरपालिकाको जयतपानीदेखि ज्यामिरेसम्म कालोपत्रे गरिएको सडक वर्षातको पानीले बगाउनुका साथै नालासमेत भत्किएको छ ।
खलङ्गादेखि कुपिण्डेहुँदै बालुवासंग्रहीको ३२ किलोमिटर चार सय मिटर लम्बाई रहेको सडक आधा कालोपत्रे र आधा ग्राबेल गर्न सन्तोषी लोहनी जेभी कम्पनीले २०७२ देखि सुरु गरेको थियो । कालोपत्रे एक ठाउँ मात्र नभई ठाउँठाउँमा बगाएको ज्यामिरेका लालबहादुर यरीले बताए । ठेकेदारले जति अलकत्रा हाल्नु पथ्र्यो त्यत्ति नहालेको उनको आरोप छ । उनका अनुसार सरकारले धेरै रकम विनियोजन गरे पनि धुलोबाट बच्नलाई बनाएको जस्तो गरी मात्रै कालोपत्रे गरिएको उनको भनाइ छ ।
स्थानीय नवराज शाहीले ठेकेदारले वर्षाको मौसममा कालोपत्रे गरेकाले राम्रोसँग अलकत्रले चिप्स नसमातेकै कारण वर्षातको पानीले बगाएको बताए । उनले उक्त पिच धेरै नटिक्ने जानकारी गराए । ठेकदार कम्पनीका इन्जिनियर सुधन पन्तले जयतपानीदेखि ज्यामिरेसम्म जंगल भएकाले घाम कम लाग्ने हुँदा तापक्रम नपुगेकै कारण पिच वर्षातको पानीले बगाएको बताए । उनले भने, ‘पिच गरिसकेपछि गाडी गुडने र त्यसको भारले अलकत्रमाथि आउने गर्दा चिप्स समात्ने भए पनि चिसोले गर्दा त्यो हुन नपाएको र पानीले बगाएको हो ।’
सडक ठाडो भएकाले कालोपत्रे नटिक्ने भए पनि योजनाअनुसार एक लेयर हालेको र अर्को लेयर हाल्न नपाउदै वर्षा सुरु भएकाले समस्या उत्पन्न भएको उनको भनाइ छ । पूर्वाधार विकास कार्यालय सुर्खेतका इन्जिनियर तथा खलङ्गा वालुवासंग्रही सडकका प्रोजेक्ट मेनेजर गोविन्द महतराले ठेकेदारले काम ढिला सुरु गर्दा समस्या भएको बताए । कालोपत्रे गरेका ठाउँमा पुनः मर्मत र डवल ओटासिल गरेर सम्पूर्ण भुक्तानी दिने उनको भनाई छ । आ.व. २०७२ सालमा सञ्चालित योजना दुई वर्षमा सम्पन्न गर्नु पर्ने भए पनि सम्झौता भएको १५ महिनापछि काम सम्पन्न भएको थियो । २४ करोड ६१ लाख बजेटअनुसार काम भइरहेको सडकको कालोपत्रे साढे चार मिटर चौडाइ रहेको छ ।