२१ बैशाख २०८१, शुक्रबार

नेपाल भ्रमण बर्षका लागि कर्णलीका ४० पर्यटकीय गन्तव्य छनोट

प्रदेश राजधानीबाट नियमित हवाई उडानको माग

सुर्खेत । नेपाल सरकारले सुरु गरेको नेपाल भ्रमण बर्ष २०२० मा पर्यटक आकर्षणका लागि कर्णाली सरकारले ४० पर्यटकीय गन्तव्य छनौट गरेको छ । कर्णालीका २० वटा पर्यटकीय स्थानलाई अन्तराष्ट्रिय र २० स्थानलाई राष्ट्रिय गरी ४० स्थानको सूचीकरण गरिएको कर्णाली सरकारको उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्री नन्दसिंह बुढाले जानकारी दिए । प्रदेशका विभिन्न जिल्लाका महत्वपूर्ण पर्यटकीय स्थलहरुलाई अन्तराष्ट्रिय महत्वको पर्यटकीय गन्तव्यका रुपमा छनौट गरिएको मन्त्री बुढाले बताए । ‘कर्णालीका सबै जिल्लाहरुबाट २÷२ पर्यटकीय स्थानहरुको राष्ट्रिय र अन्तराष्ट्रिय महत्वको पर्यटकीय गन्तव्य सूचीकरण गरिएको छ’ उनले भने ।
हुम्लाको लिमी उपत्यका र खार्पुनाथ सिमिकोट, मुगुको रारा र छायानाथ, जुम्लाको चन्दननाथ, गुठिचौर पातारासी र सिँजा उपत्यका, कालिकोटको पचालझरना, चुलीमालिका, कोटदरबार पिली र मान्म बजारलाई अन्तराष्ट्रिय महत्वको पर्यटकीय स्थलको सूचीमा छनौट गरिएको उनको भनाई छ । त्यस्तै दैलेखको राकम कर्णाली र पञ्चकोशी सर्किट, सुर्खैतको काँक्रेविहार, बुलबुले ताल र पञ्चपुरी सर्किट, सल्यानको कुपिण्डे दह र छायाँनाथ तथा खैरावाङ मन्दिर, रुकुम पश्चिमको सिस्ने हिमाल र स्यार्पुताल मुसीकोट दरबार र डिग्रेमाई मन्दिर, जाजरकोटको भेरी मन्दिर, डोल्पाको माथिल्लो डोल्पा से फोक्सुण्डो ताल र त्रिपुरासुन्दरी मन्दिर अन्तराष्ट्रिय महत्वको पर्यटकीय गन्तव्यको सूचीमा राखिएका छन् ।
प्रदेश राजधानीबाट नियमित हवाई उडानको माग
कर्णालीमा पर्यटक आवागमन बढाउन सुर्खेतबाट सरकारी जहाज नियमित उडानको व्यवस्था गर्र्न कर्णाली सरकारले माग गरेको छ । नेपाल भ्रमण बर्ष २०२० सफल बनाउन गठित कर्णाली प्रादेशिक पर्यटन प्रबद्र्धन समितिको बैठकले सरकारको लक्ष्य हाँसिल गर्नका लागि कर्णालीको राजधानी सुर्खेतबाट सरकारी जहाज नियमित उडानका लागि व्यवस्था गर्न नेपाल सरकारसंग माग गरिएको समितिका सदस्य सचिव तथा कर्णाली सरकारको उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्रालयका सचिव धीरेन्द्रकुमार प्रधानले बताए ।
वीरेन्द्रनगरमा बसेको प्रादेशिक पर्यटन प्रबद्र्धन समितिको बैठकले नेपाल वायुसेवा निगमको एउटा जहाज सुर्खेतबाट नियमित उडान गर्ने व्यवस्थाका नेपाल सरकारसंग अनुरोध गर्ने निर्णय गरिएको सचिव प्रधानले जानकारी दिए । ‘संघीय राजधानीबास सुर्खेत र सुर्खेतबाट कर्णालीका अन्य जिल्लाहरुका पर्यटकीय स्थलहरुमा पुग्नका लागि पनि एउटा जहाले सुर्खेतबाट नियमित उडानको व्यवस्था गर्नु पर्ने आवश्यकता छ’ उनले भने, ‘संघीय सरकारको संस्कृती, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले यसको सुनुवाई गर्ने छ ।’ कर्णालीमा उडान भरिरहेका नीजि वायु सेवा कम्पनीसंग पनि पर्यटकको सहजताका लागि साझेदारी गरिने उनले बताए ।
सरकारको लक्ष्य हाँसिल गर्न कर्णालीको भौगोलिक विकटतालाई ध्यान दिएर सरकारी वायुसेवाको नियमित उडान जरुरी भएको कर्णाली सरकारको उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्री नन्दसिंह बुढाले बताए । प्रादेशिक पर्यटन प्रबद्र्धन समितिका अध्यक्ष समेत रहेका मन्त्री बुढाले कर्णालीमा पर्यटक आवागमन बढाउनका लागि प्रदेश सरकारले पनि थप योजना बनाउने जानकारी दिए । ‘कर्णालीमा पर्यटक आकर्षणका लागि यहाँको मौलिकता झल्किने गरी विभिन्न क्रियाकलापमा प्रदेश सरकारले प्रोत्साहन गर्ने कार्यक्रम बनाएको छ’ उनले भने ।
कर्णाली प्रादेशिक पर्यटन प्रबद्र्धन समितिले राजु कार्कीको संयोजकत्वमा दिलबहादुर महत, देवराज जैसी, देवीकृष्ण रोकाया सदस्य र धिरेन्द्रकुकार प्रधान सदस्य सचिव रहेको पाँच सदस्यीय सचिवालय गठन गरेको छ । सचिवालयको काठमाडौमा रहेन सम्पर्क कार्यालयका लागि लंकबहादुर शाही, जनकराज बर्मा र छेवाङ लामालाई चयन गरेको छ । समितिको बैठकले देवराज जैसीको संयोजकत्वमा प्रचार प्रसार विभाग, जनकराज शर्माको संयोजकत्वमा होटल ट्राभल्स तथा ट्रेकिङ व्यवस्थापन विभाग, देवीकृष्ण रोकायाको संयोजकत्वमा मानव संशाधन तथा समन्वय विभाग गठन गरेको छ ।
त्यस्तै लंकबहादुर शाहीको संयोजकत्वमा आर्थिक विभाग र दिलबहादुर महतको संयोजकत्वमा टुरिजम् प्रोडक्ट तथा सांस्कृतिक विभाग गठन गरिएको सचिव प्रधानले जानकारी दिए । नेपाल भ्रमण बर्ष २०२० को प्रचार प्रसार तथा कर्णालीको पर्यटन प्रबद्र्धनका लागि राष्ट्रिय तथा अन्तराष्ट्रियस्तरमा ख्याती प्राप्त ५ जनालाई पर्यटन दुत चयन गर्ने र भदौ २५ गते डोल्पामा हुने महोत्सव गर्ने समितिले निर्णय गरेको छ ।