२१ बैशाख २०८१, शुक्रबार

पचाल झरना उचाइँ ३८१ मिटर लामो


कालिकोट । पचाल झरनाको उचाई ३८१ मिटर रहेको पायएको छ । प्रचार प्रसारको अभावमा ओझेलमा परेको पचाल झरनाको वास्तविक नाप नहुँदा यसको झरनाको उचाई पत्ता लगाउन सकिएको थिएन । पचाल झरना गाउँपालिकाले साउन ५ र ६ गते झरनाको नाप गरेको जनाएको छ ।
जिल्ला प्राविधिक कार्यालय कालिकोटका प्राविधिक कुलप्रसाद न्यौपाने र पचालझरना गाउँपालिकाका प्राविधिक टेकबहादुर शाहीको टिमले झरनाको उचाईको नाप लिएको हो । २ वटा जिपिएसको सहायताबाट साउन ५ र ६ गते दुई दिन लगाएर नाप लिइएको थियो । ‘हामीले दुई दिन लगाएर यसको नाप लिएका हौं’ अध्यक्ष सेजुवालले भने, ‘२ वटा जिपिएसको सहयोगले तीन जना प्राविधिकले २ दिनमा यसको नाम लिँदा ३ सय ८१ मिटर पाइयो ।’
उचाइको नाप लगेर पर्यटन मन्त्रालय र पर्यटन विभागमा पठाएको दुई वर्ष बित्यो अझैसम्म झरनाले मान्यता पाउन सकेको छैन । गाउँपालिकाले झरनाको नाप लिएसंगै पचालझरना नेपालकै सबैभन्दा अग्लो झरना भएको गाउँपालिकाले दाबी गरेको छ । त्यस क्रममा पचाल झरना नेपालकै सबैभन्दा अग्लो भएको पाइएको गाउँपालिका अध्यक्ष खड्कराज सेजुवालले बताए ।
यसअघि नेपालको सबैभन्दा अग्लो मानिएको तेह्रथुमको हृयातुङ झरनाको उचाई ३६५ मिटर मात्र छ । तर हृयातुङ भन्दा पचाल झरनाको उचाई १६ मिटर बढी अग्लो पाइएको हो । वास्तविक उचाई पत्ता लागेसँगै यो झरना विश्वकै ३० अग्ला झरनाहरुमा परेको छ । अझै पनि सरकारको नजर पचाल झरना छहरामा परेको छैन । पचाल झरना देशकै एक सयको पर्यटकीय गन्तव्यको सूचीमा परेको छ ।
स्थानीय तहको चुनाव अघिका प्रतिबद्धता अनुसार यहाँका जनप्रतिनिधिहरुले पचाल झरनाको विकासको लागि कार्यक्रम बनाएर बजेट विनियोजन गरिएको अध्यक्ष सेजुवालले बताए । झरनाको प्रचारका लागि आयोजना गरिएको पदयात्रासहित कार्यक्रममा नाप लिइएको अध्यक्ष सेजुवालले जानकारी दिए । गाउँपालिकाको नाम सोही झरनाबाट राखिएकाले पनि झरनाको बारेमा सत्यतथ्य प्राप्तिका लागि साउन २९ गते पचाल झरनाको फेदीमा गाउँसभा राख्ने तयारी गरिएको सेजुवालले जानकारी दिए ।