२१ बैशाख २०८१, शुक्रबार

छाडा चौपायाले दुर्घटनाको जोखिम


सुर्खेत । सडकमा छोडिएका बेवारिसे चौपायाले सडक दुर्घटना बढाएका छन् । कर्णालीको राजधानी वीरेन्द्रनगरमा बढ्दो जनसंख्यासंगै सवारी चाप बढेपछि छाडा चापायले दुर्घटनाको जोखिम मात्र बढाएका छैनन् त्यसले यात्रु र पसलेलाई पनि सास्ती भोग्नु परेको छ । सडक बीचबाट छाडा चौपाया आवतजावत गर्ने र बीच सडकमै बस्ने गरेकोले दुर्घटना र जाम बढाएको सवारी चालक नरेन्द्र रेग्मीले बताए । ‘सडकमा बेवारिस चौपायाले सास्ती दिने गरेका छन्’ उनले भने, ‘चौपाया सडकमै बसीदिँदा रातीको समयमा अफ्ठ्यारो हुन्छ ।’
वीरेन्द्रनगर नगरपालिकाले छाडा चौपाया व्यवस्थापनका लागि भने गौशाला बनाउन लागेको जनाएको छ । छाडा पशु व्यवस्थापन गरी बहुआयामिक कार्यक्रममार्फत जैविक मल, जैविक विषादी र बायोग्यास उत्पादन गर्ने लक्ष्यका साथ छाडा पशु नियन्त्रणको लागि गौशाला निर्माणको कार्यक्रम बनाइएको वीरेन्द्रनगरका उपप्रमूख मोहनमाया ढकालले बताईन् । ‘छाडा पशु व्यवस्थापनका लागि गौशाला निर्माणको प्रक्रिया सुरु भई सकेको र त्यसबाट वायो ग्याँस उत्पादन गरिने छ’ उनले भनिन् ।
कर्णाली प्रदेश सरकारको ४० प्रतिशत र बैकल्पिक उर्जा प्रबद्र्धन केन्द्रको ६० प्रतिशत लगानीमा वीरेन्द्रनगरमा गौशाला निर्माण गर्न लागिएको वैकल्पिक उर्जा अन्तर्गत के.पी व्यवसायी केन्द्र सुर्खेतका प्रबन्धक कृष्ण ढकालले बताए । पहिलो चरणको गौशाला निर्माणका लागि सवा करोडको लागत अनुमान गरिएको छ बताइएको छ । गौशाला निर्माणका लागि सुब्बाकुनामा झन्डै २ विघा जग्गा २० वर्षका लागि भाडामा लिएर काम थालिएको ढकालले बताए ।